तपाईँ सुन्दै हुनुहुन्छः

देशको अर्थतन्त्रमा कृषिको योगदान घट्दो : पूर्व अर्थमन्त्री महत

जनकपुरधाम । नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकमाको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान निरन्तर रुपमा घटेर अहिले २४–२५ प्रतिशत मात्र रहेको बताउनुभएको छ ।
वि पी चिन्तन प्रतिष्ठानले आज जनकपुरधाममा आयोजना गरेको “नेपालमा कृषि क्रान्ति: समस्या र चुनौती” विषयक विचार गोष्ठीमा उहाँले देशको कूल जनसङ्ख्याको दुई तिहाइ जनसङ्ख्या अहिले पनि कृषि लागेको तर प्रतिफल कम रहेकाले कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व बढाउने गरि काम गर्न जरुरी रहेको बताउनुभयो । पूर्व अर्थमन्त्री डा. महतले कृषि क्षेत्रमा उत्पादन लागत घटाउनका लागि जग्गाको चक्लाबन्दी खेतीका साथै विशिष्टिकृत खेती प्रणालीको विकास गर्न आवश्यक भएको बताउनुभयो ।
मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान बढाउनका लागि कृषिको यान्त्रिकीकरण, विशिष्टीकरण गर्दै मागमा आधारित कृषि उत्पादनमा जोड दिन जरुरी रहेको डा. महतले बताउनुभयो । उहाँले नेपाल सरकारले मुलुकमा सिँचाइ सुविधाका लागि ठूला ठूला सिँचाइ योजनाहरूको निर्माण गरिरहेको बताउँदै यसले कृषि क्षेत्रमा क्रान्ति ल्याएर कृषि उत्पादनमा ठूलो योगदान पुग्ने आशा व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस मधेश प्रदेशका सभापति एवं पार्टीका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले मधेश प्रदेश कृषिमा आधारित प्रदेश भएकाले कृषि क्षेत्रको विकासका लागि थप लगानी गर्नका लागि आग्रह गर्नुभयो ।
मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले कृषि क्षेत्रमा बढ्दै गएको परनिर्भरता घटाउन तथा कृषि उत्पादन बढाउन कृषि क्षेत्रमा लगानी बढाउन जरुरी रहेको बताउनुभयो ।
पूर्वमन्त्री एवं नेपाली काँग्रेस नेता रामसरोज यादवले चुरेको विनाशका कारणले कृषि क्षेत्रमा नकारात्मक प्रभाव परेको बताउँदै चुरेको विनाश रोकेर कृषि क्षेत्रमा भएको समस्याको समाधान गर्न आवश्यक भएको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले कृषि क्षेत्रको विकासका लागि सिँचाइ पहिलो आवश्यकता रहेको बताउँदै सिँचाइका लागि सरकारले विशेष रुपमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
वि पी चिन्तन प्रतिष्ठानका सह–अध्यक्ष पुष्पराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस धनुषाका उपसभापति गणेश झा, भरत ढकाल सहितका व्यक्तिहरूले कृषि क्षेत्रको विकासका लागि कृषि उत्पादनको लागत घटाउन आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button