तपाईँ सुन्दै हुनुहुन्छः

उद्योगको प्रदूषणले स्थानीयलाई समस्या

सुनसरी । सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रको दुहबी नगरपालिकामा रहेको उद्योगको प्रदूषणका कारण स्थानीयहरूलाई समस्या भएको छ ।
करिडोर क्षेत्रका उद्योगहरू केही मापदण्ड विपरीत र केही मापदण्डभित्र रहेको भएपनि प्रदूषण नियन्त्रणमा उदासिन हुँदा स्थानीयहरूलाई समस्या भएको गुनासो आएको हो ।
दुहबी नगरपालिकाका ८ को जाजु ग्रुपको एसियन थाई फुड रमपम चाउचाउ उद्योग, शारडा ग्रुपको स्वदेशी खाद्य तेल उद्योग, डोलफिंन चप्पल उद्योग तथा मुरारका ग्रुपको पशुपति आइरन एण्ड स्टिल, मैनाबती स्टिल, एसियन बिस्कुट उद्योगका कारण सर्वसाधारण फोहोर प्रदूषणमा बस्न बाध्य भएका दुहबी ६ का स्वास्थ्यकर्मी आषिश कुमार यादवले जानकारी दिनुभयो ।
उद्योगबाट निस्कने धुवाँ, धुलोले सर्वसाधारणको आँखा, छाला, श्वासप्रश्वास सहितको समस्या देखिएको यादवको भनाई छ । कोशी राजमार्गकै सडक छेउमै जाजु ग्रुपको एसियन थाई फुड रमपम चाउचाउ उद्योगले निर्माण गरेको छाई भट्टी, प्रदूषित पानी र ध्वनि प्रदूषणका कारण स्थानीयको दैनिकी कष्टकर बनिरहेको हो ।
आँखा रोग विशेषज्ञ डा. प्रवीण यादवले विभिन्न उद्योगको छाइका कारण आँखामा समस्या देखिएकाले दिनहुँ आँखा समस्या लिएर आउने गरेको बताउनुभयो । डा.यादवले ठूला अस्पतालदेखि स्थानीय आँखा अस्पतालमा आँखा पोल्ने, पाक्ने, रातो हुने, आँसु आउने समस्या भएका बिरामीहरू उपचारका लागि आउने गरेको बताउनुभयो ।
उद्योगको प्रदूषणका कारण सोनापुर, फुटानिचोक, वसन्तपुर, सुभद्रा चोक, कदमगाछी चोक लगायतका क्षेत्रहरूमा बालबालिकादेखि वृद्धवृद्धासम्म प्रभावित बनेका स्थानीयबासीले बताएका छन् ।
प्रदूषणकै विषयलाई लिएर उद्योग सञ्चालक र स्थानीयबिच पटक पटक विवाद उत्पन्न हुँदासमेत उद्योगीले प्रदूषण कम गर्ने तत्परता नदेखाएको आरोप स्थानीयहरूको छ । उद्योगहरूले मापदण्ड अनुसार प्लान्ट सञ्चालन नगर्दा समस्या आउने गरेको छ । कतिपय उद्योगले फोहोरको ढल सिधै बुढी खोला र टेङ्ग्रा खोलामा मिसाउने गरेको छन् । उद्योगबाट फैलिने दुर्गन्ध र फोहरले समुदायमा बिरामी पर्ने दरमा समेत वृद्धि भएको स्थानीयको दाबी छ ।
यसैबीच कोरिडरमा सञ्चालित उद्योगहरूले बढाएको प्रदूषण नियन्त्रणको लागि आफूहरूले उद्योग सहित माथिल्लो निकायहरू प्रदेश मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएको दुहबी नगरपालिका उपप्रमुख मेनुका पोखरेल खतिवडाले प्रतिक्रिया दिनुभयो । उहाँले प्रदूषणको समस्या रहेको बताउनुभयो ।
चार वर्षअघि सुनसरी मोरङ औद्योगिक कोरिडोर अन्तर्गत इटहरी १३ खनारमा रहेको अरिहन्त अटो कोर्गेसन उद्योगको प्रदूषणले असर पुर्याएको भन्दै उद्योग घेराउ गर्दा प्रहरीसँग स्थानीयको झडप समेत भएको थियो ।
उद्योगबाट निस्किएको प्रदूषणले वर्षौँदेखि पीडित बन्नुपरेको तर सम्बन्धित सबै निकायमा गुहार माग्दा कतैबाट सहयोग नपाएको भन्दै उद्योगविरुद्ध स्थानीय आन्दोलित बन्न पुगेको स्थानीयबासी विजय सरदारले बताउनुभयो  ।
हावा चलेको बेला कोठाका ढोका–झ्याल नै बन्द गर्नुपर्ने अवस्था उत्पन्न हुने गरेको फुटानिचोकका अर्का स्थानीय विवेक साहको भनाइ छ । ढोका झ्याल बन्द गरिएन भने जिउभरिकै कपडा कालो छाइले ढाक्ने गरेको उद्योगको छाई, धुवाँ र धुलोले दम, रक्तचाप र क्षयरोगका बिरामी पनि दिन प्रतिदिन बढ्दै गएको साहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button