तपाईँ सुन्दै हुनुहुन्छः

स्टार्टअप उद्यम कर्जामा २५ लाख सम्म उपलब्ध हुने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैङ्क र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच स्टार्टअप कर्जा प्रवाहका लागि त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले स्टार्टअप कर्जा प्रवाहका लागि १ अर्बको कोष खडा गरेको र उद्यम तथा परियोजनालाई धितो मानेर बढीमा २५ लाखसम्मको कर्जा उपलब्ध गराउने जानकारी दिनुभयो ।
मन्त्री भण्डारीले कर्जा प्रवाहका लागि कार्यविधि पारित भइसकेको र अनलाइन मार्फत नवउद्यमीहरुले कर्जाका लागि आवेदन दिन सकिने बताउनुभयो । नेपालमै भएका स्रोत साधनलाई प्रयोग गरी युवा पुस्तालाई बिदेसिनबाट रोक्न र आन्तरिक रोजगारी प्रदान गर्न स्टार्टअप कर्जा प्रवाह गर्न लागेको र यसलाई प्रभावकारी बनाइने मन्त्री भण्डारीले बताउनुभयो ।
सरकारले नवीनतम ज्ञान सिप, क्षमतालाई प्रयोग गरी स्टार्टअप उद्यमका विभिन्न क्षेत्रहरू छनोट गरेको छ । ती क्षेत्रहरूमा कृषि, सिँचाइ तथा पशुपक्षी, उत्पादनमूलक उद्यम, जडीबुटी, वन पैदावार, पर्यटन तथा मनोरञ्जन, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना, शिक्षा, सुरक्षित यातायात, फोहोरमैला व्यवस्थापन लगायत उद्यमका क्षेत्र छनौट गरेको छ ।
मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले आयात र निर्यात बीच सन्तुलन कायम गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने भन्दै त्यसका लागि स्टार्टअप क्षेत्रमा पनि लगानी बढाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button