तपाईँ सुन्दै हुनुहुन्छः

ब्लड बैङ्क नहुँदा दाताकै भर

सल्यान । ब्लड बैङ्क नहुँदा सल्यान जिल्ला अस्पतालमा आउने बिरामी आफन्त वा दाताका भरमा रगत जुटाउँदै आइरहेका छन् ।

जिल्लामा ब्लड बैङ्क नहुँदा विशेष गरी सुत्केरी हुन आउने महिलाले बढी समस्या झेल्न बाध्य छन् ।

बिरामीलाई रगत आवश्यक अवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सर्वसाधारण र स्वास्थ्यकर्मीको रगतको भर पर्नु पर्ने बाध्यता छ ।
जिल्लामा ब्लड बैङ्क अत्यन्त आवश्यक रहेको १९ औँ पटक रक्तदान गरिसक्नुभएका रक्तदाता हिमाल यात्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘उपचारका लागि अस्पताल पुग्यो, रगत चाहियो भने रगत हुँदैन । जिल्लामा यो समस्या समाधान कसरी गर्ने होला ?’

विशेष गरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्दा बढी रगत खोजिन्छ । जिल्लामा रगतको आवश्यकता रहेको र जिल्लामै रगत सङ्कलन गर्ने र खपत हुन नसकेको रगतलाई जिल्ला बाहिर पठाउने गरी  समन्वयात्मक ढङ्गबाट ब्लड बैङ्क सञ्चालन गर्न अनिवार्य रहेको उहाँको भनाइ छ ।

१५ शय्याको जिल्ला अस्पतालमा रगतका लागि दाताको भर पर्नुपर्ने एक मात्र विकल्प छ । आवश्यक परेको समयमा चाहिएको समूहको रगत भएको व्यक्तिलाई फोन गरेर बिरामीलाई रगत दिन गुहार गर्नुपर्ने बाध्यता रहेको सल्यान जिल्ला अस्पतालले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा.अर्जुन बुढामगरले रेडक्रस, जिल्ला अस्पताल सल्यानको सहकार्यमा ब्लड बैङ्क सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । ब्लड बैङ्क सञ्चालनका लागि २०७७ सालमा भवन निर्माण भइसकेको छ । तर भवन निर्माण भएको वषौं भइसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । डा. बुढाले भन्नुभयो, ‘स्वास्थ्य कार्यालय तथा अस्पताललाई ब्लड बैङ्क सञ्चालन गर्ने अनुमति छैन, त्यही भएर रेडक्रसले सञ्चालन गर्ने तयारी गरेको छ ।’

सुत्केरी हुने र अन्य रोगका लागि रगत चाहिने बिरामी महिनामा ८ देखि १० जना आउने गरेका र ब्लड बैङ्क नभएकाले आपत्कालीन रक्तसञ्चार केन्द्रमार्फत रगत सङ्कलन गरेर शल्यक्रिया गर्ने गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button