तपाईँ सुन्दै हुनुहुन्छः

विदेशिएका युवालाई फर्काउनुपर्ने बेला आएको छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बिदेसिएका युवाहरूलाई फर्काउने बेला भएको बताउनुभएको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घको २८औँ वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले नेपालमै रोजगारी विस्तार गर्नुको विकल्प नरहेको बताउनुभयो ।

“अरू देशले नेपालमा सम्भावना देख्ने अनि हामीले अन्यत्र सम्भावना देख्ने अवस्था कहिलेसम्म रहन्छ ? अब हाम्रा दक्ष जनशक्तिलाई नेपालमै श्रम र रोजगारीको वातावरण सृजना गर्नुपर्छ । यसमा सरकार प्रतिबद्ध भएर लागेको छ । हाम्रो मन्त्रालयले स्टार्टअप नेशन २०३० लगायतका युवालक्षित केही कार्यक्रम ल्याएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने भूमिका शैक्षिक जगतका व्यक्तिहरूको पनि हो । तपाईँको भूमिकामा साथ दिन सरकार तयार छ ।”, उहाँले भन्नुभयो । मन्त्री भण्डारीले नेपाल शैक्षिक केन्द्रको हब बन्न सक्ने बताउनुभयो ।

उहाँले हाम्रा उत्पादन र उत्पादकत्वलाई विश्व बजारमा निर्यात गर्नुपर्ने भन्नुहुँदै नेपालका व्यवसायीले उत्पादन गरेका बस्तु खपतका लागि छिमेकी मुलुक भारत र चीनसँग सहकार्य गर्ने बताउनुभयो । नयाँ सोच र चिन्तनहरूमा राज्यको सहयोग र समर्थन रहने उहाँको भनाई छ ।

सरकारले युवाहरूलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले लगानी सम्मेलनका क्रममा पुँजी र प्रविधि भित्र्याउने तयारी गरेको बताउनुभयो ।

उहाँले ज्ञान सिप प्राप्त गरेका जनशक्तिहरूलाई नेपाल फर्काउने अभियानमा शैक्षिक परामर्श सङ्घको भूमिका रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button