तपाईँ सुन्दै हुनुहुन्छः

सोह्र वर्ष विदेश बस्नुभएका दिलचन ड्रागन फ्रुट खेतीमा रमाउँदै

दाङ । रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गर्नुभयो । विदेशबाट फर्केपछि हाल उहाँ घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ । बुढासहित ६ जना ड्रागन फ्रुट खेतीमा संलग्न हुनुहुन्छ ।

छपन्न वर्षीय बुढा सोह्र वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बस्नुभयो । ड्रागनफ्रुट खेतीबाट आफ्नै देशमा मनग्य आम्दानी गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ । ड्रागन फ्रुट खेतीबाट सोचेभन्दा बढी आम्दानी गर्न सफल भएको बुढाको भनाइ छ । बजारीकरणको समस्या नहुँदा खेतीतर्फ आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।

“ड्रागनफ्रुट रातो प्रतिकिलो रु चार सय तथा सेतो रु चार सय ५० का दरले घरबाटै बिक्री हुने गरेको छ”, उहाँले भन्नुभयो, ‘दैनिकजसो जिल्लाका धेरै ठाउँबाट माग आइरहन्छ, माग आए काठमाडौँ समेत पठाउने गरेको छु ।” परम्परागत कृषि कर्मबाट उपलब्धी हासिल नभएपछि ड्रागनफ्रुट खेती रोजेको बुढाले बताउनुभयो । करिब रु ८० लाख खर्च गरेर ६ जनाको समूहले ‘दङ्गाली ड्रागन फ्रुट फर्म’ दर्ता गरेर विगत छ वर्षदेखि दुई विघा जमिनमा व्यावसायिक रुपमा खेती गर्दै आएको छ ।

“वार्षिक रु २० लाखदेखि रु २५ लाखसम्म कारोबार हुन्छ”, बुढाले भन्नुभयो, ‘दुई बिघामा करिब एक हजार तीन सयभन्दा बढी बिरुवा रहेका छन्, प्रति बिरुवा ३० देखि ४० किलोसम्म उत्पादन हुन्छ ।” वार्षिक बचत रु १५ लाखसम्म हुने गरेको छ ।’

ड्रागनफ्रुट खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि पछिल्लो समय जिल्लामा धेरै किसान त्यसतर्फ आकर्षित भएका छन् । तीन/चार वर्षअघिसम्म प्रतिकिलो रु आठ सय ५० मा बिक्री हुने गरेको ड्रागन फ्रुटको वर्षेनि मूल्य घट्दै गएको बुढा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “चार वर्षअघिको जस्तै ड्रागनफ्रुट बिक्री हुन्थ्यो भने कमाउन विदेश जानुपर्ने थिएन् । विगतको तुलनामा दोब्बरले मूल्यमा कमी आएको छ ।”

धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेका लागि मेहनत गर्न सके ड्रागन खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने बुढा उदाहरण बन्नुभएको छ । अन्य तरकारी, पशुपालन लगायतका कृषि व्यवसायमा मेहनत अनुसारको लगानी हुन नसकेको गुनासो आउने गरेको छ । ड्रागनफ्रुट खेतीमा त्यो समस्या नरहेका अर्का व्यवसायी लालप्रकाश बुढा बताउनुहुन्छ । उहाँ पनि लामो समय वैदेशिक रोजगारमा रहनुभएको थियो । सधैँ विदेशमा बस्नुभन्दा स्वदेशमा केही गर्ने सोचका साथ सामूहिक रुपमा साथीहरूसँग यो व्यवसाय गरेको उहाँले बताउनुभयो ।

सिँचाइका लागि धेरै पानी आवश्यक नपर्ने र पहाडी भिरालो ठाउँमा पनि राम्रो आम्दानी लिन सकिने भएका कारण धेरै किसान पछिल्लो समय ड्रागन खेतीमा लागेका छन् । दुई बिघा जग्गाको भाडा वार्षिक रु ६० हजार तिर्ने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button