तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि 

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा करिब ११ प्रतिशतले वृद्धि भएको छ । बाघको लागि प्रख्यात मानिने बर्दिया राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षको भन्दा एक हजार आठ सय सात जना पर्यटक बढी आएका छन् । 

निकुञ्जमा गत आर्थिक बर्ष २०८०/८१मा १८ हजार १० जना नेपाली,  छ हजार छ सय ८४ हजार जना विदेशी र एक  हजार ४ सय ३७ जना सार्क मुलुकका गरी २६ हजार एक सय ३१ जना पर्यटकहरू निकुञ्ज घुम्न आएका थिए ।  अघिल्लो आर्थिक बर्ष २०७९/८० मा १६ हजार ७ सय २२ नेपाली ६ हजार तिन सय ८३  विदेशी र एक हजार दुई १९ सार्क मुलुकका नागरिकहरू निकुञ्ज भ्रमण गरेका थिए । निकुञ्जमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाली विदेश र सार्क मुलुकका पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी राजश्व सङ्कलन पर्यापर्यटनबाट नै हुने गरेको तथ्याङ्क रहेको छ । गत आर्थिक वर्ष  २०८०/८१ मा सबैभन्दा बढी दुई करोड ८४ लाख चार  हजार पाँच रुपैयाँ राजश्व पर्यापर्यटनबाट प्राप्त भएको छ  । जुन कुल राजश्व चार करोड ५२ लाख ८ हजार छ सय २६ रुपैयाँको ६२.८२ प्रतिशत हो । अघिल्लो आर्थिक बर्ष २०७९/८० मा कुल राजश्वमा ४८.३७ प्रतिशत मात्र पर्यापर्यटनबाट राजश्व सङ्कलन भएको थियो । 

गत वर्षको तुलनामा यस आर्थिक वर्षमा पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताउनु भयो  । विगत वर्षहरूको तुलनामा पर्यटकहरू र उहाँहरूबाट सङ्कलन हुने राजश्वमा वृद्धि भएको छ । उहाँले भन्नुभयो  ‘नेपालीहरू पनि पर्यटकीय क्षेत्र घुम्नका लागि आउने क्रम बढेको छ ।’  सहजै बाघ हेर्न सकिने भएको हुनाले समेत पर्यटकहरू बर्दिया राष्ट्रिय निकुञ्ज आउने गरेको उहाँको भनाई छ । 

पर्यटकहरूको वृद्धि भएसँगै बर्दियाका पर्यटन व्यवसायीहरू पनि हर्षित भएका छन् । कोरोना पछि सुस्ताएको पर्यटन व्यवसाय पुनः तग्रिदै गएको पर्यटन व्यवसायी राम जी थापा बताउनु भयो  । निकुञ्ज घुम्न आएका पर्यटकहरू मध्ये अधिकांशले प्राकृतिक रूपमै बाघ हेरेर फर्कने गरेको उहाँको भनाई छ ।  

बाघ लगायत जङ्गली हात्ती, गैँडा, चितुवा, चित्तल, बाह्रसिङ्गा लगाएतका जङ्गली जनावर सहजै  र एकै दिनमा हेर्न सकिने भएको हुनाले पनि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको आरक्षणको केन्द्र भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button