तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जबाट ७५ करोड बढिको जडीबुटी निर्यात

बाँके । जडीबुटी निकासीको प्रमुख नाकाका रूपमा रहेको नेपालगन्जबाट १ वर्षमा रु. ७५ करोडभन्दा बढी मूल्यको जडीबुटी निर्यात भएको छ।

विभिन्न समस्या र अवरोधका बाबजुद गत आर्थिक वर्षको २०८०/८१ मा रु. ७५ करोड बढीको जडीबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी सङ्घले जनाएको छ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क प्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट विभिन्न प्रकारका समस्या र चुनौतीहरू रहेपनि पश्चिम नेपालका व्यवसायीले एक वर्षमा ७५ करोड ४६ लाख ५० हजार रुपियाँको जडीबुटी निकासी गर्न सफल भएको बताउनुभयो । उहाँले गत केही वर्षयता नेपाली जडीबुटीप्रति भारतको कडा रवैया र नेपाल सरकारकै अस्पष्ट नीतिका कारण जडीबुटी निकासीमा समस्या हुँदै आएपनि व्यवसायीले उत्साहजनक रूपमा जडीबुटी निकासी गरेको बताउनुभयो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा नेपालगन्ज नाकाबाट ७५ करोड ४६ लाख ५० हजार मूल्य बराबरको २६ लाख ६७ हजार ५३ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा यो नाकाबाट ८२ करोड ८० लाख २४ हजार मूल्यको जडीबुटी निकासी भएकोमा गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा सात करोडको जडीबुटी कम निकासी भएको भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा जडीबुटी निकासीमा केही सहजता आएकोले चालु आर्थिक वर्ष २०८१/८२ मा यो नाकाबाट एक अर्बको जडीबुटी निकासी हुने अनुमान गरिएको जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button