तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ७० प्रतिशत रोपाइँ सम्पन्न

बाँके । बाँकेमा हालसम्म धान खेती हुने भू-भाग मध्ये ७० प्रतिशतमा रोपाइँ सकिएको छ । रोपाइँका लागि पानी पुगेपछि जिल्लाका डुडुवा र जानकी गाउँपालिका बाहेक धेरैजसो स्थानमा रोपाइँ सकिएको छ ।


साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा सिचाईको सुविधा नपुगेको ठाउँमा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदलले बताउनु भयो । उहाँका अनुसार यसपटक हालसम्म पनि आवश्यक पर्ने वर्षा नभएकाले जानकी र डुडुवा गाउँपालिकामा चाहे जतिको रोपाइँ हुन सकेको छैन । हालसम्म भएको रोपाइँ पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै भएको छ ।
बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि सिचाईको व्यवस्था नभएको पालिकाहरूका किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् ।

डुडुवामा २ हजार २ सय ७८ हेक्टरमा धान लगाउँदै आएको बताउनुहुँदै डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील शर्माले यस वर्ष २३ सय हेक्टर क्षेत्रफलमा धान लगाउने अनुमान रहेको जिकिर गर्नु भयो । डुडुवाका हिरमिनिया, होलिया, बेतहनीलगायत क्षेत्रमा चैते धान र मकै भित्र्याए लगत्तै किसानले धान रोप्ने स्थानीय कृषक राजेन्द्र कुर्मीले बताउनु भयो । कुर्मीले भन्नुभयो, आकाशे पानीको भरमा खेती नहुने भए पछि बोरिङबाटै खेती गर्दै आएको बताउनु भयो । सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि रोपाइँ गरिएको कुर्मीले बताउनु भयो ।


धानको बीउ राख्ने समयलाई दृष्टिगत गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजन इन्जिनियर सन्देश पौडेलले जानकारी दिनुभयो । बाँकेमा ३४ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।


पछिल्लो समय कृषि प्रविधिको प्रयोग बढेका कारण धान खेती छोटो समयमै सम्पन्न गर्न सहज बनेको छ । धान रोपाइँमा ट्याक्टर, रोलाभेटर, हाते ट्याक्टर जस्ता मेसिनको प्रयोग बढेपछि दुई साताभित्रै अधिकांश भूभागमा धान खेती सकिएको ज्ञान केन्द्रका प्रमुख अहमदलले जानकारी दिनुभयो । विगत केही वर्षअघिसम्म हलगोरु र मानिसको सहायताले मात्र धान रोपाइँ हुँदै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button