तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवस्था कार्यालय कास्कीद्वारा १ अर्ब ४२ करोड ३० लाख राजश्व सङ्कलन

पोखरा । यातायात व्यवस्था कार्यालय कास्कीले गत बर्ष १ अर्ब ४२ करोड ३० लाख ४० हजार ६ सय २४ रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक बर्ष २०८०/०८१ मा कार्यालयले चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुर, प्रशासनिक दण्ड, जरिवाना र जफत एवं सवारी साधन कर लगायतका शीर्षकबाट उक्त राजश्व सङ्कलन गर्न सफल भएको कार्यालयका निमित्त कार्यालय प्रमुख अशोक गौतमले बताउनु भयो ।

सवारी साधन कर बापत १ अर्ब २६ करोड ४८ लाख ८ हजार ४ सय ९३ रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको उहाँले जनाउनु भयो । त्यसै गरी प्रशासनिक दण्ड, जरिवाना र जफतबाट १ करोड १३ लाख ६१ हजार ९ सय ५७ रुपैयाँ राजश्व सङ्कलन भएको छ । चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट गत बर्ष ९ करोड ९६ लाख ४७ हजार ३ सय ८३ रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक बर्ष २०७९/०८० मा भन्दा गत बर्ष कार्यालयले ११ करोड ५३ लाख बढी राजश्व सङ्कलन गर्न सफल भएको हो । आर्थिक बर्ष २०७९/०८० मा कार्यालयले १ अर्ब २९ करोड ५५ लाख ६० हजार ८ सय ९४ रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको थियो ।

कार्यालयको गत बर्ष ८०.६६ प्रतिशत प्रगति हासिल गर्न सफल भएको सूचना अधिकारी राजेन्द्र आचार्यले जनाउनु भयो । कार्यालयमा हालसम्म ३ लाख १८ हजार ३ सय ७२ वटा सवारी साधनहरू दर्ता भएको कार्यालयले जनाएको छ । कार्यालयमा गत वर्षमा मात्र १० हजार १ सय ११ वटा सवारी साधनहरू दर्ता भएका छन्। सबै भन्दा धेरै दुई पाङग्रे सवारी साधन मोटरसाइकल तथा स्कुटर ८ हजार ६ सय २० वटा दर्ता भएको निमित्त प्रमुख गौतमले जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button