तपाईँ सुन्दै हुनुहुन्छः

अनुसन्धानका लागि तपस्वी रामबहादुर बम्जनलाई सिन्धुपाल्चोक ल्याइयो 

सिन्धुपाल्चोक । विवादास्पद तपस्वी रामबहादुर बम्जनलाई मानव बेचबिखन र व्यक्ति बेपत्ता मुद्दामा थप अनुसन्धानका लागि सिन्धुपाल्चोक ल्याइएको छ । 

सर्लाही जेलबाट बम्जनलाई बुधबार थप अनुसन्धानका लागि सिन्धुपाल्चोक ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बम्जन विरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा मानव बेचबिखन र व्यक्ति बेपत्ताको दुईवटा मुद्दा रहेकाले सोको अनुसन्धान एवम् बयानका लागि बम्जनलाई सिन्धुपाल्चोक ल्याइएको डिएसपी निराजन भट्टराइले जानकारी दिनुभयो । बयान सकिए लगत्तै बम्जनलाई फिर्ता पठाइनेछ ।

बम्जन २०७१ साल असोज महिनामा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा न ५ बाँडे गाउँमा आएका थिए । हेलिकोप्टर चार्टर गरेर आएका बम्जनले बाँडेगाउँस्थित टोड्के भीरमा २५ जना सहयोगी सहित आश्रम बनाएर बसेका थिए । झण्डै डेढ वर्ष सिन्धुपाल्चोक बसेका बम्जनमाथि सिन्धुपाल्चोक नै बसेका बेलामा ३ जना व्यक्ति बेपत्ता पारिएको आरोप लागेको छ । नुवाकोट मेधाङ गाउँपालिका वडा न ३ की २९ वर्षीय चिनीमाया तामाङ,  हेटौँडा उपमहानगरपालिका  १३ का ५१ बर्षीय सञ्चालन बाइबा र सोही उपमहानगरपालिका वडा न १६ की ३० वर्षिया फूलमाया रुम्बा बाँडेगाउँस्थित बम्जनको आश्रमबाट बेपत्ता भएका थिए ।

तपस्वी बम्जनलाई असार १७ गते सर्लाही जिल्ला अदालतले १० वर्ष कैद र पाँच लाख क्षतिपूर्तिको सजाय सुनाइसकेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उक्त फैसला गर्नुअघि असार १० गते बम्जन बाल यौन शोषण मुद्दामा दोषी ठहर भएका थिए ।  

बम्जनमाथि आफ्नै आश्रमका दुई आनी र तीन बालक बेपत्ता बनाएको, विभिन्न ठाउँमा बालिकाहरूमाथि यौन शोषण गरेको आरोप लागेको थियो । 

गत पुस २४ गते काठमाडौँको बूढानीलकण्ठ नजिकै घरबाट पक्राउ परेपछि बम्जनलाई सर्लाही पुर्याइएको थियो । छापाको क्रममा प्रहरीले उनको घरबाट तीन करोड नेपाली रुपैयाँ र ४० लाख बराबरको विदेशी मुद्रासमेत फेला पारेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button