तपाईँ सुन्दै हुनुहुन्छः

डेङ्गीका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव

सङ्खुवासभा । यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् ।

असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । साउनयता भाइरल ज्वरो र डेङ्गीका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शय्या नहुँदा अहिले बिरामीलाई भुईँमा राखेर उपचार गरिरहेको छौँ ।”

जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्यधिक बढेकाले भुईँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । 

अहिले अस्पतालमा आउने अधिकांश बिरामी ज्वरो, डेङ्गी र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताउनुभयो । उहाँका अनुसार वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेङ्गीका २७ जना बिरामी भेटिएका छन् । 

गत आर्थिक वर्षमा एक हजार एक सय ४४ जनामा डेङ्गु, पाँच सय २० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो । भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् । 

भाइरल ज्वरोले सङ्खुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ । यो वर्ष जिल्लामा भाइरल ज्वरोको सङ्क्रमण अत्यधिक बढेको अस्पतालका सूचना अधिकारी खत्रीले बताउनुभयो । 

विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्यामा सञ्चालित छ । जिल्लाका १० स्थानीय तहकाका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल सङ्खुवासभा उपचारका लागि आउने गरेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button