तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकीमा रोपाइँ: बागलुङमा सबैभन्दा बढी, गोरखामा कम

गण्डकी । साउन पहिलो सातासम्ममा गण्डकी प्रदेशमा करिब ८४ दशमलव २६ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा बढी बागलुङमा ९५ दशमलव ०१ र गोरखामा जम्मा ५४ दशमलव ७३ प्रतिशत रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

कास्कीमा ९५, नवलपरासीमा ९२, तनहुँमा ९२, स्याङ्जामा ८५, पर्वतमा ८०, लमजुङमा ७९ र म्याग्दीमा ६९ दशमलव ३६ प्रतिशत रोपाइँ भएको हो ।  निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलकानुसार यसवर्ष प्रदेशभरिमा करिब ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ । गत वर्ष ९७ हजार सात सय ६९ हेक्टरमा धान खेती गरिएको थियो । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये वर्षेनी करिब एक लाख हेक्टरमा वर्षे धान लगाइने गरिएको छ । आगामी साताभित्रमा प्रदेशभर रोपाइँ सकिने अनुमान गरिएको कृषि अधिकृत पोखरेलले बताउनुभयो ।  

गत असार १५ गतेसम्ममा प्रदेशमा जम्मा १५ प्रतिशत रोपाइँ भएकामा त्यसयता बढेर ८४ प्रतिशत पुगेको हो । पछिल्लो समय मनसुन सक्रिय भएकाले रोपाइँ सहज भएको छ । आकाशे पानीमा निर्भर किसान पनि यतिबेला रोपाइँमा व्यस्त छन् । बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने यहाँका फाँटमा त मध्य जेठदेखि नै रोपाइँ सुरु हुन्छ । यसवर्ष रोपाइँका लागि मलको अभाव नरहेको निर्देशनालयले जनाएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको उहाँको भनाइ छ । 

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । धान खेतीका लागि यहाँका विभिन्न जिल्लामा पकेट क्षेत्र तोकिएका छन् । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ यहाँका धान पकेट क्षेत्र हुन् । 

 यस्तै, पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।  गण्डकीका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button