तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि

प्रदेश  सरकारले मन्त्रालयको सङ्ख्या घटायो

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुदैछ । प्रदेश सभा सचिवालयका अनुसार विशेष अधिवेशनको पहिलो बैठक आज दिउसो २ बस्ने गरि तयारी भएको छ । बैठकमा सभामुख भिम बहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विशेष अधिवेशन सम्बन्धीको पत्र बाचन गर्ने कार्यसूची रहेको छ। 

नेपाली काँग्रेस र नेकपा एमालेका प्रदेश सभा सदस्य (एक तिहाइ)ले विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आजका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नु भएको थियो । बजेट शून्यता रहेको अवस्थामा प्रदेश सभाको विशेष अधिवेशन बस्ने भएपछि सर्वत्र चासोका रुपमा हेरिएको छ । मुख्यमन्त्री दीर्घ बहादुर सोडारी अल्पमतमा परेको भन्दै काँग्रेस र एमालेले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन् । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनु  भएका सोडारी तत्कालीन सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् । 

प्रदेश  सरकारले मन्त्रालयको सङ्ख्या घटायो

यसैबिच सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता अक्कल रावलले साउन ६ गते बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको सङ्ख्या १० बाट घटाएर ७ वटा कायम गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सहित ७ वटा मन्त्रालय कायम रहने बताउनु भयो । प्रदेश सरकारले असार १६ गते मन्त्रालय सङ्ख्या बढाएर ७ बाट १० वटा पुर्याएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button