तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट ऊत्तरगङ्गा जलविद्युत् आयोजनाको प्रगतिबारे सदनलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको ऊत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको प्रगतिबारे सदनलाई जानकारी गराउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उहाँले उक्त आयोजना नेपाल विद्युत् प्राधिकरणको आयोजना विकास विभागअन्तर्गत रही सोही विभागबाट सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कनको काम भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले हाल उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना ‘स्पेसल प्रपोज भेइकल’को रुपमा विकास गर्न २०७४ सालमा उत्तरगङ्गा पावर कम्पनी लिमिटेडको स्थापना गरी कार्य अगाडि बढाइएको जानकारी दिनुभयो । हालसम्म आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको, वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भइसकेको, जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री ओलीले विद्युत् उत्पादन अनुमतिपत्रको लागि विद्युत् विकास विभागमा आवेदन दिइसकिएको बताउनुभयो । विद्युत् प्राधिकरण इञ्जिनियरिङ कम्पनीमार्फत आयोजनाको सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन प्राप्त भएपछि निर्माण ढाँचा र लागत ढाँचा निर्क्योल गरी आगामी चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले जानकारी गराउनुभयो ।

खानी तथा भूगर्भ विभागबाट अन्तर्राष्ट्रिय एटोमिक सङ्गठनको सहयोगमा भएको प्रारम्भिक अन्वेषणबाट मुस्ताङको लोमाङथान क्षेत्रमा उत्खननयोग्य गुणस्तर र परिमाणमा युरेनियमको खनिज भण्डार रहेको देखाएको प्रधानमन्त्री ओलीले संसद्मा जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “युरेनियम रणनीतिक खनिज भएकोले यसको उत्खनन पूर्व केही कानुनको सुधार, प्रयोगशालाको स्तरोन्नति, जनशक्ति विकास सँगसँगै गरी विस्तृत अन्वेषण र औद्योगिक उपयोगको ढाँचा र सङ्गठन ढाँचा तय भए पश्चात् मात्र उत्खनन गर्न सकिने देखिन्छ ।”

प्रधानमन्त्री ओलीले पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल सरकार, मन्त्रिपरिषद्बाट गत असार २७ गते संसद्मा पेस गर्ने प्रयोजनार्थ स्वीकृत भई संसद्मा पेस गर्ने प्रक्रियामा रहेकोसमेत जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button