तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा एक वर्षमा ४६ किलोमिटर सडक कालोपत्रे

सल्यान । सल्यानमा गत आर्थिक वर्ष मा ४६ किलोमिटर सडक कालोपत्रे भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा पूर्वाधार विकास कार्यालय सल्यानले १५ किलोमिटर र सडक डिभिजन कार्यालय दाङले ३१ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गरेका हुन । 

बहुवर्षीय योजना अन्तर्गत लुहाम – काभ्रा ५ किमी, खलङ्गा– बालुवासंग्रही २.५ किमी, थारमारे–चौरपानी–वडा गाउँ– चौरजहारी ७.५ र सोलाबाङ – रिम १ किलोमिटर सडक कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय सल्यानका सूचना अधिकारी सागर आचार्यले जानकारी दिनु भयो ।

यस्तै सडक डिभिजन कार्यालय दाङले राप्ती राजमार्ग पुनर्स्थापना मर्मत ९ किमी, दमाचौर– गुराँसे ४ सय ४० मिटर, शंखमुल–छत्रेश्वरी मन्दिर १.१, थारमारे– रातपहरा १.१५किमी, थारमारे बजार– क्याम्पस रोड २ सय १० मिटर, श्रीनगर– खैरावाङ्ग सडक २ .२ किमी, खलङ्गा– सालचौर– कालीमाटी सडक ६.५, भेरी पुल ४ सय ६४ मिटर, आवधिक मर्मत अन्तर्गत सितलपाटी, खलङ्गा, जयतपानी १०.५ किमी सडक कालोपत्रे भएको छ । 

कर्णाली प्रदेश सरकारका गौरवका आयोजना अन्तर्गत मुख्य मुख्य सडकहरू कालोपत्रे गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानका सूचना अधिकारी आर्चायको भनाई छ । गत आ.व.मा कालोपत्रेको लक्ष्य बढी राखिएको भएता पनि वर्षा तथा ठेकेदार कम्पनीको केही ढिलासुस्तीले लक्ष्यलाई पुरा गर्न नसकिएको उहाँले बताउनु भयाे । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button