तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली जनावरबाट वाली जोगाउन नसक्दा वैकल्पिक खेतीको थालनी

अर्घाखाँची । खाद्य बाली लगाउँदा बाँदरले सताउन थालेपछि सन्धिखर्कका किसानले वैकल्पिक खेतीको सुरुवात गरेका छन् । परम्परागत बाली लगाउँदा बाँदर जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती र कफी खेती गर्न थालेका हुन् । बाँदर,बदेल,राते जस्ता जङ्गली जनावर बाट अन्नबाली जोगाउन नसकेपछि वैकल्पिक खेती गर्ने किसानको सङ्ख्या बढ्दो छ । 

यसअघि मकै, गहुँ, जस्ता अन्न तथा फलफूल लगाइने ठाउँमा किसानले अहिले कागती ,कफी,अम्रिसो रोप्न सुरु गरेका हुन् । जङ्गली जनावर बाट अन्नबाली जोगाउन मुस्किल हुन थालेपछि सन्धिखर्क –१० धरम्पानीका किसानको बाँझै रहने अवस्थाको ९० रोपनी खेतीयोग्य जग्गामा ९ हजार कफीका बिरुवा लगाइएको स्थानीय कृषक भविश्वर भुसालले बताउनुभयो । 

त्यस्तै सन्धिखर्क–२ भलायडाँडाका किसानको ६५ रोपनी खेतीयोग्य जग्गामा २ हजार कागती र करिब ५० रोपनी जमिनमा ५ हजारबढि कफीका बिरुवा लगाइएको स्थानीय गोविन्द प्रसाद पोख्रेलको भनाई रहेको छ ।

सन्धिखर्क नगरपालिकाको सहयोगमा कृषकलाई वैकल्पिक खेतीतर्फ आकर्षण गर्न र जङ्गली जनावर बाट हुने क्षति कम गर्न कफी तथा कागतीका बिरुवा,प्राङ्गारिक मल वितरण गरिएको सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिनुभयो ।

त्यस्तै कृषकको मागका आधारमा ४० प्रतिशत अनुदानमा लिची,कागती,सुन्तला,मौसमका ४५ सय बिरुवा वितरण गरिएको भट्टराइले जानकारी दिनुभयो ।

‘बाँदरले धेरै नै दुःख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक कागती,कफी खेती सुरु गरिएको छ,’  स्थानीय अगुवा कृषक रामजी मरासिनीले भन्नुभयो, मकै, कोदो, गहुँ जस्ता अन्नबाली र दलहन तथा अन्य नगदेबाली बाँदरकै कारण संरक्षण गर्न सकिएन ।

वनक्षेत्रमा बाँदर भुल्ने र उसले खाने चिज केही नभएको, बाँदर धपाउने मान्छे पनि गाउँमा पर्याप्त नभएपछि बारीमा बाँदरबाट अन्नबाली जोगाउन कठिन पर्ने हुँदा कागती र कफी खेती सुरु गरिएको कृषकको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button