तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा सवारी दुर्घटनामा कमी 

गुल्मी । गुल्मीमा सवारी दुर्घटनामा कमी आएको छ । पछिल्लो तिन आर्थिक वर्षको तथ्याङ्क अनुसार सवारी दुर्घटनाको सङ्ख्यामा कमी आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सवारी चालक सहचालकलाई गरिएका कार्यक्रमहरू प्रभावकारी बन्दै गएका छन् । जसले गर्दा जिल्लामा सवारी दुर्घटनामा कमी आएको छ । 

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आएको छ । आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/०८० मा १० जना मृत्यु भएको छ भने २०८०/०८१ म ९ जनाको मृत्यु भएको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको सम्बन्धी गरिएका कार्यक्रमहरूका कारणले दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका वरिष्ठ प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र शर्माले बताउनुभयो ।

गुल्मी जिल्लामा गत आर्थिक वर्ष ०८०/८१ मा सवारी कारबाहीमा ५१ लख २५ हजार ५ सय  रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने ८ हजार ४२४ सवारी साधनलाई कारबाही भएको छ । 

अघिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा १२ लाख राजस्व सङ्कलन कमी आएको छ । अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा ६३ लाख १४ हजार राजस्व सङ्कलन भएको थियो । यो अवधिमा १० हजार ९६ सवारी साधनहरू कारबाहीमा परेका थिए । 

कार्यालयले यो अब धिमा विभिन्न विद्यालयका बिद्यार्थीहरु, व्यवसायीक,चालक, परिचालक, पैदल यात्रु तथा अन्य सर्वसाधारण गरि १४ हजार ९३ जनालाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गरेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button