तपाईँ सुन्दै हुनुहुन्छः

 डडेल्धुरामा एक अर्ब बढी बजेट फ्रिज

डडेल्धुरा । डडेल्धुरामा गत आर्थिक वर्ष २०८०/०८१ मा कूल विनियोजित बजेटबाट एक अर्ब रुपैयाँ बढी खर्च हुन नसकेर फ्रिज भएको छ ।

संघीय र प्रदेश मातहतका कार्यालय तथा संघीय र प्रदेशले स्थानीय तहलाई पठाएको कुल बजेटमध्ये एक अर्ब ६ करोड रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको हो । ७६ करोड संघीय सरकारले पठाएको बजेट र ३० करोड प्रदेश सरकारले पठाएको बजेट गत आर्थिक वर्षमा खर्च हुन नसकेको हो । गत आर्थिक वर्ष २०८०/०८१ मा डडेल्धुराका कार्यालय र स्थानीय तहलाई प्रदेश सरकारले चालू र पुँजीगत तर्फ दुई अर्ब २५ करोड बजेट विनियोजन गरेको थियो । प्रदेश लेखा नियन्त्रण कार्यालय डडेल्धुराका प्रमुख चेतराज जोशीका अनुसार उक्त बजेटमध्ये एक अर्ब ९५ करोड खर्च भएको छ । पुँजीगततर्फ २० करोड र चालूतर्फ १० करोड गरी ३० करोड बजेट खर्च हुन नसकेको प्रमुख जोशीले

बताउनु भयो । 

प्रदेश मातहतका कार्यालय र स्थानीय तहले प्रदेशबाट पाएको कुल बजेटको ५९ करोड रुपैयाँ असार महिनामा खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय डडेल्धुराको तथ्याङ्कले देखाएको छ । ४१ करोड पुँजीगत र १८ करोड चालू बजेट असार महिनामा खर्च भएको हो । जुन  कुल खर्चको ३० प्रतिशतभन्दा बढी हुन्छ । यस्तै, संघीय सरकार मातहतका कार्यालय र संघीय सरकारले स्थानीय तहलाई पठाएको बजेटमध्ये ७६ करोड फ्रिज गएको छ ।

 कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराका प्रमुख योगेन्द्रराज शर्माका अनुसार संघीय सरकारले डडेल्धुराका लागि चालूतर्फ  चार अर्ब ८० करोड ९९ लाख बजेट विनियोजन गरेको थियो । चार अर्ब २४ करोड २१ लाख खर्च भएको र ५७ करोड बजेट चालूतर्फ फ्रिज गएको छ । यस्तै पुँजीगततर्फ २८ करोड १९ लाख ७१ हजार संघीय बजेट रहेकोमा २४ करोड ७८ लाख ८६ हजार खर्च भएको छ भने चार करोड ५७ लाख बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डडेल्धुराका प्रमुख शर्माका अनुसार स्थानीय तहलाई पठाएको १५ करोड बजेट पनि खच नभएर फिर्ता आएकोले उक्त बजेट पनि फ्रिज गएको जानकारी दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button