तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा नागरिकता भन्दा राहदानी बनाउने बढी

रुपन्देही । पश्चिम तराईको जिल्ला रुपन्देहीमा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेहरूको सङ्ख्या अधिक रहेको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको भिड बढी छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आर्थिक वर्ष २०८०/८१ तथ्याङ्क अनुसार जम्मा १२ हजार ७ सय ८१ जनाले नागरिकता बनाउँदा २२ हजार ३ सय ९५ जनाले राहदानी बनाएका छन् । नागरिकता बनाउनेमा ११ हजार ९ सय २३ जनाले वंशज, ६ सय ६२ ले वैवाहिक अङ्गीकृत, ६१ जनाले अङ्गीकृतका सन्तान, ५ जनाले आमाको नामबाट, १०० जनाले गैरआवासीय नागरिकता पाएका लिएका छन् ।

जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा २५ हजार १ सय २० राहदानी मध्ये २२ हजार ३ सय ९५ नागरिकता वितरण गरिएको छ । यस्तै जिल्लामा ६ सय ५१ जनाले नाबालक परिचय पत्र बनाएका छन् । जिल्ला प्रशासन बाट जारी हुने नाबालक परिचय पत्र नाबालक राहदानी बनाउनको लागी प्रयोग हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले पछिल्लो समय उच्च शिक्षाको लागि वैदेशिक अध्ययन र वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या समेत बढ्दै गएको बताउनुभयो ।

रुपन्देही प्रशासनमा वैदेशिक रोजगारीमा जानेहरूको लागी सुरक्षित आप्रवासन कार्यक्रम (सामी) ले सचेतना अभिवृद्धि लगायतको काम गर्दै आएको छ । सामीका अनुसार आर्थिक वर्ष २०२२/२३ अनुसार पहिलो पटक वैदेशिक रोजगारीमा जाने पुरुषको सङ्ख्या १५ हजार ६ सय ९४ रहेको छ भने महिलाको सङ्ख्या ५ हजार ५ सय ४३ रहेको छ । त्यसैगरी वैदेशिक रोजगारीमा दोस्रो पटक जाने पुरुषको सङ्ख्या ४ हजार १ सय ५८ रहेको छ भने महिलाको सङ्ख्या ८६ रहेको छ । सुरक्षित आप्रवासन सामी परियोजना जिल्ला प्रशासनमा कार्यरत सिता पन्थीले राहदानी बनाउने अधिकांश मानिसहरू वैदेशिक रोजगारीका लागी जाने गरेको बताउनुहुन्छ ।

सुरक्षित आप्रवासन सामी परियोजनाका अनुसार आर्थिक वर्ष २०२३/२४ मा पहिलो पटक वैदेशिक रोजगारीमा जाने १२ हजार ८ सय ९६  पुरुष र ६ हजार ५ सय ७९ महिला र दोस्रो पटक ४ हजार ४ सय ७० पुरुष र १ सय ५४ महिला गरी जम्मा २४ हजार ९९ सय रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button