तपाईँ सुन्दै हुनुहुन्छः

केरा खेतीबाट लाखौँ आम्दानी

गुल्मी । केरा खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि गुल्मीका किसानहरू केरा खेती तर्फ लागेका छन् ।

लगानी सङै बाँदर बँदेल जस्ता वन्यजन्तुले कम नोक्सानी पुर्‍याउने भएपछि किसानहरू केरा खेती तर्फ लागेका हुन। जिल्लाको सत्यवती गाउँपालिका ६ खैरेनीका छविलाल ढकाल दम्पतीले विगत ७ वर्ष देखि केरा खेती गर्दै आउनु भएको छ । ११ रोपनी जग्गामा फैलिएको बगैँचामा ५ प्रकारका २५ सय  केराका बोट रहेका छन् । जसबाट वार्षिक ५ देखि सात लाख आम्दानी हुने सत्यवती गाउँपालिका ६ खैरेनीकी लक्ष्मी ढकालले बताउनुभयो । 

ढकाल दम्पतीको अधिकांश समय केरा बगैँचामै बित्ने गर्दछ भने सिजन अनुसार स्थानीयले रोजगार समेत पाएका छन् । परम्परागत खेतीबाली बाट आम्दानी कम हुनुका साथै वन्यजन्तुले धेरै नोक्सान पुराएपछि आफूहरू केरा खेती तर्क लागेको छविलाल ढकालले बताउनुभयो । कोसेलीका रुपमा केरा धेरै प्रयोग हुने हुँदा  बजारीकरणमा कुनै समस्या नरहेको उहाँहरूको भनाई छ । स्थानीय सरकार बाट सहयोग पाए केरा खेती विस्तार गर्ने सोचमा उहाँहरू हुनुहुन्छ । यता सत्यवती गाउँपालिकाले पनि कृषि र पशुपालन बाटै गाउँपालिका समृद्ध हुने हुँदा किसानलाई सहयोग गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालको भनाई छ ।

पछिल्लो समय वन्यजन्तुको व्यवस्थापन र वैकल्पिक खेती प्रणाली बारे किसान तथा राज्यले सोच्न नसक्दा गाउँका जग्गा जमिन बाझिँदै गएको अवस्थामा ढकाल दम्पतीले सुरु गरेको केरा खेती सबैको लागि उदाहरणीय बनेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button