तपाईँ सुन्दै हुनुहुन्छः

करोडौँ लगानी तर सुध्रिएन सडकको अवस्था

इलाम ।  मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिकामा ९ माइखोला माथिको सडकमा करोडौँ बजेट खर्च गरिएपनि बाटोको अवस्था सुध्रिएको छैन ।

झापाहुँदै इलामसहित पाँचथर र ताप्लेजुङ जोड्ने सडकका धेरै क्षेत्रमा खाल्डाखुल्डी त छन् नै माईखोला – राजदुवाली खण्डको सडक भासिने क्रम वर्षौँदेखि रोकिएको छैन । 

डिभिजन सडक कार्यालय इलामले करोडौँ रुपैयाँ खर्चिएर नयाँ प्रविधिमा आधारित एङ्करिङ विधिबाट सडक मर्मतको काम गरेपनि यो सडकमा लगानी बालुवामा पानी सरह देखिएको छ । बारम्बार सडक भास्सिएपछि राजदुवालीमा एङ्करिङ प्रविधिबाट काम गरिएको थियो । पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलो पटक मेची लोक मार्गको राजदुवाली खण्डमा एङ्करिङ गरिएको हो । यसले माटो भास्सिएर वा अन्य कारणले ठेलिएर पहिरो जानबाट रोक्ने भनिए पनि टिक्न सकेन । 

ठुलो रकम खर्चेर सडक मर्मत गरे पनि राजदुवालीदेखि भन्ज्याङसम्म करिब ३ किलोमिटर कालोपत्रे सडक खण्ड लथालिङ्ग बनेको छ । यता कालोपत्रे जीर्ण हुँदा सवारी साधन दुर्घटनाको जोखिम बढेपछि सडक मर्मतका लागि पहल सुरु गरिएको छ । 

गत आइतबार प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय,इलाम नगरपालिका र सञ्चारकर्मीको टोलीले सडकको अनुगमन गरेको थियो  ।  अनुगमन पश्चात् इलाम नगरपालिकाको सहयोग तथा जिल्ला प्रशासनसहित जिल्ला स्थित सुरक्षा निकायहरूको समन्वयमा तत्काल सडक मर्मतको काम थालिने प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो  ।

सडक बिग्रिएकाले मेचीलोक मार्गमा यात्रा गर्ने यात्रुले सस्ती भोग्दै आइरहेका छन् । माईखोला–गोलाखर्क भञ्ज्याङ खण्डका करिब आधा दर्जन स्थानमा वर्षौंदेखि सडक भत्किएको छ । 

मर्मतका लागि मात्र करोडौँ रुपैयाँ खर्च भइसकेको छ । ‘रक’ एङ्करिङसमेत असफल भएपछि सडकको अवस्था दयनीय छ ।  सडक भास्सिएर सडकको आधाभन्दा बढी भाग नै बिग्रिँदा लोक मार्ग एकतर्फीजस्तो मात्रै भएको छ। यता कालोपत्रे जीर्ण हुँदा सवारी साधन दुर्घटनाको जोखिम बढेपछि सडक मर्मतका लागि पहल सुरु गरिएको छ । सडक जति मर्मत गरे पनि जोखिम घट्ने छाँट देखिँदैन । मर्मतका लागि राज्यको करोडौँ रुपैयाँ खर्च भए पनि भास्सिने क्रम नरोकिएपछि रुट नै परिवर्तन गर्नुपर्ने माग उठिरहेको छ । २०५३ सालमा भास्सिन सुरु गरेको सडकको माईखोला माथिल्लो खण्डको ३ किलोमिटर क्षेत्र बढी क्षतिग्रस्त भएको हुँदा जोखिम बढेको हो । पछिल्लो समय यस सडकमा माटो र ढुङ्गा लगाएर थिच्ने काम भइरहेको छ । यसले पनि दीर्घकालीन समाधान नदिने स्थानीय बासीको गुनासो छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button