तपाईँ सुन्दै हुनुहुन्छः

विज्ञान सङ्काय पढ्नेलाई पूर्ण छात्रवृत्ति

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर भित्रका सामुदायिक विद्यालयमा विज्ञान सङ्काय पढ्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने नीति ल्याएको छ ।

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा समेटिएको सो कार्यक्रमबाट उपमहानगरभित्र सञ्चालित दुई विद्यालयका विद्यार्थी लाभान्वित हुनेछन् ।

उपमहानगरको वडा नम्बर २ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरामा ४० जना र वडा नम्बर ५ मा रहेको नेरामावि बकुलीयामा २० जना विद्यार्थी भर्ना भएका छन् । उपमहानगरपालिकाले विज्ञान सङ्कायमा पढ्ने कक्षा ११ का विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन आ.व. २०८१/८२ को बजेटमा २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

उपमहानगरपालिकाले उपलब्ध गराउने अनुदान रकमबाट ६० विद्यार्थीले अध्ययन गर्न सक्ने नेरामावि सिमराका प्रधानाध्यापक शङ्करकुमार आचार्यले बताउनुभयो । स्थानीयस्तरमा गुणस्तरीय शिक्षाका लागि विद्यार्थी प्रोत्साहनका लागि ल्याइएको नीति सकारात्मक रहेकाले यसको निरन्तरताका लागि उपमहानगरले ध्यान दिनुपर्ने प्रधानाध्यापक आचार्यको भनाई छ ।

यस्तै पहिलोपटक उपमहानगरपालिकाले एमफिल तथा पिएचडी छात्रवृत्ति कार्यक्रम ल्याएको छ । जसका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आगामी वर्षहरुमा यसको रकम वृद्धि गर्दै जाने योजना बनाइएको नगर प्रमुख राजन पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button