तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्रका सबै क्षेत्रलाई एक साथ प्रभावकारी रूपले परिचालन गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

काठमाडाैँ । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सबै क्षेत्रलाई एक साथ प्रभावकारी रूपले परिचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सोमवार अर्थ मन्त्रालयमा पद बहाली गर्नुहुँदै नवनियुक्त अर्थमन्त्री पौडेलले मुलुकको समग्र अर्थतन्त्रको विकासको काममा सरकारलाई सबै क्षेत्रबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले मुलुकमा उत्पादन वृद्धि, रोजगारीको सिर्जना तथा आर्थिक वृद्धिका लागि अनुकूल वातावरण बनाउन सरकार लागि पर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

नेपालले सामना गरेको सबैभन्दा ठूलो समस्या भनेको अस्थिरताको भएको उल्लेख गर्नु हुँदै अर्थमन्त्री पौडेलले वर्तमान संयुक्त सरकारको निर्माणसँगै मुलुक स्थिरतातर्फ अघि बढ्ने सन्देश प्रवाह भएको नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

अर्थमन्त्री पौडेलले सरकारको सोंच कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक नहुने बताउनुहुँदै कार्यान्वयनका क्रममा बाधा आएको खण्डमा त्यसलाई कानूनी प्रबन्ध अनुसार मिलाउँदै लैजाने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्याहरू सुन्ने र समाधानका लागि आवश्यक पहल गर्ने समेत बताउनुभयो ।

शेयर बजार अर्थतन्त्रको ऐना रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले त्यसलाई सन्तुलित ढंगले अघि बढ्ने अनुकूल वातावरण बनोस् भन्ने सरकारको सोंच रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button