तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले इन्द्रावती तेस्रो जलविद्युत आयोजनामा क्षति

सिन्धुपाल्चोक । याङ्री तथा इन्द्रावती नदीमा गएराती आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत आयोजनामा क्षति पुगेको छ । ७ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको छ भने सब स्टेसन तथा पावर हाउसमा समेत क्षति पुगेको छ । अहिले आयोजनाबाट बिद्युत् उत्पादन ठप्प भएपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का अधिकांश भाग अन्धकार भएको छ । साथै खाल्डेखोला देखी तिपेनीसम्म सडक समेत अवरुद्ध भएको छ ।  यस क्षेत्रमा जाने  वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनहरू समेत चल्न नपाउँदा बिरामीहरू समेत मारमा परेका पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो ।

त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताउनुभयो । तटीय क्षेत्रको खेती योग्य जमिन बगाएको छ । चिनिया पुल, माझीरुम्टी, तीपेनी, खस्रेबलुवा र खाल्डेखोला जस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ ।

मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको बेलिबृज पनि जोखिममा परेको छ । त्यस्तै मेलम्चीमा नव निर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल उच्च जोखिममा रहेको छ ।

यसैगरी अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको बेलिबृज बाढीले बगाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button