तपाईँ सुन्दै हुनुहुन्छः

सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना प्रभावकारी बन्दै

बाँके । विपद् व्यवस्थापन तथा पूर्व तयारीको कार्यमा सुपर परियोजनाले समुदायमा प्रत्यक्ष प्रभाव पारेको छ । नगरमा विपद्बबारेमा सचेतना, तथा जोखिम न्यूनीकरण र पुर्वतयारीका बारेमा स्थानीय सचेत भएको पाइएको छ । 

युरोपियन युनियनको आर्थिक सहयोगमा युएनडिपी, युनिसेफ र युएन ओमेनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)को समीक्षा बैठकका सहभागीहरूले विपद्को क्षेत्रमा परियोजनाले उल्लेख्य काम गरेको बताएका थिए । 

बैठकमा नेपालगन्जमा सचेतना अभियान, स्थानीय तथा विभिन्न सरोकारवालाको क्षमता अभिवृद्धि र उपमहानगरपालिकामा नीति, योजना निमार्णको कार्यमा प्राविधिक सहयोग गरिएको छ । समीक्षा बैठकमा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले परियोजनाको उपलब्धसहितको कार्यप्रतिको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

परियोजनाले अवासिय घर बिमा कार्यक्रम, व्यवसाय निरन्तरता योजना, फायर वाइक सेवा प्रारम्भ, तथा दमकल सेवा चुस्त र प्रभावकारी, निजी क्षेत्रको सहभागिता तथा साझेदारी, वडा स्तरमा विपद् पूर्व तयारीमा लगानी, अन्तरपालिका सँगको समन्वय र साझेदारी बढाएको व्यवस्थापन अधिकृत ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार नेपालगन्जमा सामुदायिक आपतकालिन प्रतिकार्य टोली निर्माण गरी ४०० जना स्वयम सेवकलाई खोज तथा उद्धार प्राथमिक उपचार र आगलागी नियन्त्रण सम्बन्धी तालिम दिई समुदायमा कृत्रिम घटना अभ्यासमा संलग्न गराइएको बताउनु भयो । 

महेन्द्र माविमा बृहत्तर विद्यालय सुरक्षा योजना कार्यान्वयन, परम्परागत इनारको मर्मत गरी अग्नि नियन्त्रणसँग जोडिएको,विद्यालयको प्रबलीकरण,  गरी आपतकालिन मार्गको पहिचान, नगर प्रहरीलाई खोज तथा उद्धार तालिम दिई दक्ष बनाइएको छ । 

बैठकमा नेपालगन्जका कार्यवाहक मेयर कमरुद्दिन राईले नगरमा सञ्चालित विपद्को कार्यक्रमले ठुलो सहयोग पुगेको भन्दै उपमहानगरपालिकाले आगामी दिनमा विपद्को क्षेत्रमा प्रभावकारी कार्य गर्ने प्रतिबद्धता गर्नुभयो । 

बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, नेपाल रेडक्रस सोसाइटी बाँके सभापति गोवर्द्धन सिंह सम्झना, विपद् समितिका संयोजक समीर प्रताप सिंह, वडा न-३ का वडाध्यक्ष मो. आयुब सिद्दिकी, नेपालगन्ज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख गोरखबहादुर थापा लगायतले परियोजनाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button