तपाईँ सुन्दै हुनुहुन्छः

एक वर्षमा २ करोड बढीका खसीबोका बिक्री गरी आम्दानी 

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाका किसानले खसीबोका बिक्री गरी  एक वर्षमा दुई करोड  ३६ लाख आम्दानी गरेका छन् ।

व्यापारीहरूले आफूखुसी खसीबोकाको मूल्य निर्धारण गर्दा मारमा परेका किसान त्रिवेणी गाउँपालिकाले सहकारी मार्फत बजारीकरण गर्न थालेपछि किसानहरू खुशी भएका छन् । सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका एकमुष्ट सङ्कलन गरेर सहकारी मार्फत नै व्यापारीलाई बिक्री हुँदै आइरहेको छ  । 

जिल्लाको त्रिवेणी गाउँपालिकामा रहेका चार सहकारीले एक वर्षमा १ हजार २ सय २४ खसी बिक्री गरेका छन् । दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीले सबैभन्दा धेरै ६१८, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३८१, नमुना सामाजिक उद्यमी महिला सहकारी संस्था २१५ र त्रिवेणी पशुपालन सहकारी संस्थाले १० खसी बिक्री गरेको त्रिवेणी गाउँपालिकाले जनाएको छ । जसबाट किसानले २ करोड ३६ लाख ३० हजार ६ सय २९ रुपैयाँ आम्दानी गर्न सफल भएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनु भयो । 

पालिकाले मापदण्ड पुगेका १ सय ८२ खसीको प्रतिकिलो २० रुपैयाँका दरले ६ लाख ५३ हजार ५ सय ४० रुपैयाँ अनुदान किसानले सहकारी मार्फत उपलब्ध गराइएको प्रमुख रावतले बताउनु भयो । गाउँपालिकाले वडा न २ , ४ र ५ लाई बाख्रा पकेट क्षेत्रको रुपमा विकास गरेको छ । कृषकहरूलाई सहकारी तर्फ आकर्षित गर्न गाउँपालिकाले सहकारी मार्फत खसीबोका बिक्री गर्ने किसानलाई प्रतिकिलो २० रुपैयाँ अनुदान दिँदै आइरहेको उहाँको भनाई छ । 

सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका सहकारीको मासिक बैठकमा डाटा सङ्कलन गरेर निश्चित मितिमा व्यापारीलाई सहकारीमा नै बोलाएर तौलिएर बेच्ने गरेको दुर्गा भवानी  सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष भोज कुमारी बुढाथोकीले बताउनु भयो ।  

बजारीकरणमा समस्या नहोस् भन्नका लागि आफूहरूले सहकारीमार्फत यो काम शुरु गरेको बुढाथोकीको भनाइ छ । गत वर्ष सहकारी मार्फत ५०० सय खसीबोका बेचेको बताउँदै उहाँले यो वर्ष ६ सय १८ बिक्री गरेको बताउनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button