तपाईँ सुन्दै हुनुहुन्छः

राजीनामा गरी सरकार गठनमा मार्ग प्रशस्त गर्न प्रमुख तिन दलको आग्रह

धनगढी । प्रमुख तीन दलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई राजीनामा दिएर सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

 धनगढीमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्तिले मुख्यमन्त्री सोडारीलाई तत्काल पदबाट राजीनामा दिनु पर्ने धारण सार्वजनिक गरेका हुन्। नेपाली काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले अल्पमतमा  परेका मुख्यमन्त्रीले राजीनामा दिनु पर्नेमा जोड दिनुभयो। मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेकाले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न उहाँले आग्रह गर्नुभयो ।

नेकपा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्माले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो। नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरू नयाँ गठबन्धनको पक्षमा रहेको बताउनुभयो ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका सोडारीले जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु भएको थियो । प्रदेश सरकारलाई गरेको समर्थन एमालेले साता अघि फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा पर्नुभएको छ । । सुदूरपश्चिम प्रदेशमा काँग्रेस १८ र एमाले ११, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ प्रदेश सभा सदस्य हुनुहुन्छ ।

५३ सदस्यीय प्रदेश सभा रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि कम्तीमा २७ जना आवश्यक पर्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button