तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका पदक विजेता खेलाडीहरूलाई पुरस्कृत गरिने 

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीले प्रदेशका विभिन्न खेलका पदक विजेता खेलाडीहरूलाई नगद सहित पुरस्कृत गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा विजेता खेलाडीहरूलाई नगद सहित पुरस्कृत गर्ने भएको परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो । 

बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कृत गर्न लागिएको उहाँले जनाउनु भयो । प्रतियोगितामा स्वर्ण पदक ल्याउने एकल तर्फको खेलाडीलाई ७ हजार, दुई वा समूहगत खेलमा स्वर्ण पदक ल्याउने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने भएको छ । त्यसै गरी रजत पदक ल्याउने एकल तर्फको खेलाडीलाई ५ हजार, दुई वा समूहगत खेलमा रजत पदक ल्याउनेलाई जनही ३ हजार रुपैयाँ सहित पुरस्कृत गरिने भएको परिषद्का अधिकृत तोपलाल भुषालले जानकारी दिनु भयो । त्यसै गरी कांस्य पदक ल्याउने एकल तर्फको खेलाडीले ३ हजार र दुई वा समूहगत खेलमा कांस्य पदक ल्याउने खेलाडीलाई जनही २ हजार रुपैयाँ सहित पुरस्कृत गरिने भएको उहाँले जनाउनु भयो । 

उक्त पुरस्कार वितरण करिब ८ लाख खर्च हुने परिषद्ले जनाएको छ भने प्रशिक्षकहरूको हकमा अर्को आर्थिक वर्षमा पुरस्कृत गरिने भएको छ । सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरी तीन विभिन्न राष्ट्रिय प्रतियोगितामा कुल १ सय ७५ जना खेलाडीहरूलाई पुरस्कृत गर्न लागिएको अधिकृत भुसालले बताउनु भयो । पुरस्कृत हुने मध्ये ४९ जना स्वर्ण पदक, रजत तर्फ ८९ र कांस्यतर्फ ३७ जना रहनु भएको छ । तीन विभिन्न प्रतियोगितामा समूहगतमा र एकल तर्फ गरी गण्डकीले कुल १९ स्वर्ण, ३१ रजत र २९ कांस्य पदक गरी कुल ७९ पदक जितेको परिषद्ले जनाएको छ ।

बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा कास्की नं १ मा छ । कास्कीका कुल ५५ जना खेलाडी पुरस्कृत हुनेछन् । त्यसै गरी तनहुँ र नवलपुरका समान २२–२२ जना खेलाडी पुरस्कृत हुने छन् भने बागलुङ र स्याङ्जाका १८–१८ जना, म्याग्दीका १६, पर्वतका १०, लमजुङका ९ र गोरखाका ५ जना खेलाडी नगदसहित पुरस्कृत हुने भएको परिषद्ले जनाएको छ । मनाङ र मुस्ताङका खेलाडीहरू पदक विहीन हुनु भएको थियो । 

यही असार २९ गते शनिबार पोखरामा आयोजना हुने एक कार्यक्रमका बीच खेलाडीहरूलाई सम्मान गर्न लागिएको परिषद्का सदस्य केशव पाठकले जनाउनु भयो । पोखरा रङ्गशालामा आयोजना हुने कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं परिषद्का संरक्षक सुरेन्द्रराज पाण्डेले नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button