तपाईँ सुन्दै हुनुहुन्छः

पुरिएका दुई बस अझै भेटिएनन्, हाम फालेर बाँचे तीन यात्रु

चितवन । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा आज बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ ।

सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताउनुभयाे ।

बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स रहेको बसबाट हाम फालेका ३ यात्रुले बताएको डीएसपी रिजालले जानकारी दिनुभयाे ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् ।

उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको घटनास्थलमा पुगेको चितवन प्रहरीका एसपी भावेश रिमालले जानकारी दिनुभएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button