तपाईँ सुन्दै हुनुहुन्छः

३३ लाख बराबरका अवैध मोबाइल बरामद

नवलपरासी पश्चिम् । सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छलेर लैजाँदै गरेको अवस्थामा ३३ लाख बराबरको मोबाइल बरामद गरेको छ ।

पश्चिम् नवलपरासीको सरावल गाउँपालिका–४ बडसारबाट सशस्त्र प्रहरी हरपुर गुल्मबाट खटिएको गस्ती टोलीले शनिबार बिहान ८८ थान मोबाइल बरामद गरेको हो । भारतीय मोटरसाईकलमा चढेर आएका व्यक्तिले झोलामा राखेर लैजाँदै गरेको मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण नवलपरासीका सूचना अधिकारी डिएसपी यज्ञमान साउदले जानकारी दिनुभयो ।

बरामद गरिएका मोबाइलमा ४० थान आईफोन र ४८ थान पोको नामक ब्रान्डका रहेका छन् । बरामद भएका मोबाइलको मूल्य ३२ लाख ७० हजार रहेको छ । बरामद मोबाइल र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ ।

कारोबारमा संलग्न व्यक्ति भने गस्ती टोलीले घेरा हाल्ने सङ्केत पाएपछि झोलासहितको मोटरसाइकल छाडेर भागेको डिएसपी साउदले बताउनुभयो । साउन महिनाको अहिलेसम्म भन्सार छली ल्याएका लत्ता कपडा, चिनी, हार्डवेयर लगायतका कुल ८५ लाख ५१ हजारका सामान बरामद गरेर भन्सार पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button