तपाईँ सुन्दै हुनुहुन्छः

महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ । राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५-१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट भने नेपालले जित्यो । नेपालले भारतलाई २५-१७ ले पाखा लगायो । तर चौथो सेट १८-२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौँ सेटमा भारतलाई १५(१३ ले पराजित गर्‍यो ।

उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । उक्त प्रतियोगिताअन्तर्गत भोलि दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्स भिड्नेछन् भने सवा पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ । उक्त दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुनेछ ।

जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले श्रीलङ्कामाथि २५-१९, २५-१८, र २५-१९ ले पराजित गरेको थियो ।

तस्वीरः सामाजिक सञ्जाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button