तपाईँ सुन्दै हुनुहुन्छः

तीन पटक म्याद थप्दा पनि सभाहलले पूर्णता पाएन

रुकुमपूर्व ।  रुकुमकोटमा निर्माणाधीन रुकुमकोट सभाहलले अझै पूर्णता पाउन सकेको छैन । रुकुमपूर्वको सदरमुका स्थिति बजु पुज्ने डाँडामा निर्माण भइरहेको सभाहलको लागि तीन पटकसम्म म्याद थपिए पनि काम सम्पन्न हुने कुनै सङ्केत छैन । 

आर्थिक वर्ष २०७४/०७५ मा ३३ करोड ३६ लाख ८९ हजार ६ सय २५ रुपैयाँको लागत अनुमानमा रुकुमकोट सभाहलको टेन्डर आह्वान भएको थियो  । उक्त टेण्डरमा २३ करोड ७५ लाख २५ हजार ५ सय ४३ रुपैयाँमा बी कोई अकेला जेभी कम्पनीले उक्त सभाहल निर्माण गर्ने जिम्मा पाएको थियो । 

जिम्मा पाएको लामो समय बित्दा पनि बी कोई अकेला जेभी कम्पनीले कामलाई व्यवस्था गरेको पाइएको छ । कम्पनीलेले २०७८ मंसिर २३ गते पहिलोपटक, २०७९ असार ९ गते दोस्रोपटक र २०८० मंसिर १ गते गरी तीन पटक  म्याद थप्दा पनि अझै काम सम्पन्न हुने कुनै सङ्केत देखिएको छैन ।

निर्माण कम्पनीले काम छिटै गर्ने आश्वासन पटक पटक दिँदै आएपनि काम कछुवाको गतिमा रहेको सरकारवाला निकायको भनाइ छ । यो आर्थिक वर्ष २०८०÷०८१ मा पनि उक्त सभाहलका लागि भनेर शहरी विकास मन्त्रालयबाट ५ करोड बजेट आएको छ । बजेट आइरहने तर काम नहुनाले वर्षेनी धेरै बजेट फ्रिज भइरहेको छ । यस पटक मात्रै रुकुम पूर्वबाट ३८ करोड बजेट फिर्ता भएको छ ।

पटक पटक सभाहलको बारे ताकेता गर्दा पनि निर्माण कम्पनीले व्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो । शर्माले सभाहल मात्रै नभई जिल्लाका अरू आयोजनाहरूका विषयमा पनि प्रशासनले ताकेता गर्दा समेत व्यवस्था हुने गरेको  बताउनुभयो ।

रुकुमपूर्वबाट निर्वाचित प्रतिनिधि सभा सांसद पुर्ण बहादुर घर्तीले सभाहल तथा अन्य सरकारी निर्माण कार्यको काममा ढिलासुस्ती भएको भन्दै निर्माण कम्पनी र कार्यान्वयन गराउने निकाय प्रति छानबिन गर्न र सम्झौता तोडी नयाँ खरिद प्रक्रिया सुरुगरि त्यस्ता कम्पनीहरूलाई कालोसुँचीमा राख्नुपर्ने बताउनुभयो ।

काम नगरेका निर्माण कम्पनीलाई यसरी पटक पटक म्याद थप्दै जाँदा जिल्लाको ठुला विकास निर्माणका कामहरू अलपत्र अवस्थामा पुगेको जिल्लावासीको भनाइ छ । रुकुमपूर्वमा कतिपय आयोजनाहरू ८/९ वर्षदेखि कोही कछुवाको गतिमा काम भइरहेका छन् भने कोही आयोजनाहरू ठप्प अवस्थामा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button