तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार सचिव अर्याललाई सञ्चालक समितिको अध्यक्षको रुपमा स्वागत

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति सञ्चालक समितिको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा पदस्थापन हुनुभएका राधिका अर्याललाई सञ्चालक समितिको अध्यक्षको रुपमा स्वागत गरिएको छ ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्षको रुपमा रही पुर्‍याउनुभएको योगदानको कदर र आभार प्रकट गर्दै रामकृष्ण सुवेदीलाई आजको बैठकबाट बिदाइ गरियो ।

त्यस अवसरमा सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले रेडियो नेपालको विकास तथा नीति निर्माणमा सुवेदीले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो ।

अध्यक्ष अर्यालले सुवेदीबाट भविष्यमा पनि रेडियो नेपालका लागि सरसल्लाह प्राप्त भइरहने विश्वास व्यक्त गर्नुहुँदै पूर्व अध्यक्ष सुवेदीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सञ्चालक समितिको पूर्व अध्यक्ष रामकृष्ण सुवेदीले रेडियो नेपाल राष्ट्रको महत्वपूर्ण अङ्ग भएको हुँदा रेडियो नेपालको विकास र विस्तारमा आफूले सक्दो सहयोग गरेको बताउनुभयो ।

उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा सञ्चालक समितिबाट रेडियो नेपाललाई आगामि दिनमा अझ बढि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव पार्वती शर्माले पूर्व अध्यक्ष रामकृष्ण सुवेदीको नेतृत्वमा धेरै राम्रा काम गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै नयाँ अध्यक्ष राधिका अर्यालसँग सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बन्धि धेरै अनुभव भएको हुँदा उहाँबाट अझ बढि अपेक्षा रहेको बताउनुभयो ।

रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सञ्चालक समितिका अध्यक्ष राधिका अर्याललाई स्वागत गर्नुहुँदै उहाँमा रेडियो नेपाल तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बन्धि धेरै जानकारी र अनुभव रहेको हुँदा रेडियो नेपालको नीति निर्माण र विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पूर्व अध्यक्ष रामकृष्ण सुवेदीको नेतृत्वमा निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धि कार्यविधि स्वीकृत भएको, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका स्वीकृत भएको र अर्थ मन्त्रालय मार्फत रेडियो नेपाललाई उपलब्ध गराउने बजेट वृद्धि गर्न नेतृत्वदायी भूमिका निर्वाह हुनुका साथै धेरै महत्वपूर्ण कार्य भएको स्मरण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button