तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाका कारण डेंगु संक्रमण बढ्दो

झापा । निरन्तर वर्षाका कारण झापामा डेङ्गु सङ्क्रमणको जोखिम बढेको छ ।

झापामा हालसम्म एक सय २७ जनामा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा यस वर्षको सुरुवात भएसँगै पछिल्लो तीन महिनामा आठ सय चार जनालाई परीक्षण गर्दा ७१ जनालाई डेंगु पुष्टि भएको छ ।

झापामा वैशाखमा एक सय ६० जनालाई परीक्षण गर्दा १८ जनालाई डेंगु पोजेटिभ देखिएको थियो भने जेठमा तीनसय जनालाई परीक्षण गर्दा २१ जनालाई पोजेटिभ देखिएको थियो । यसै गरी असारमा तीन सय ३६ जनालाई परीक्षण गर्दा ३२ जनामा डेंगु पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको जनाएको छ । दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण निरन्तर बढिरहेको छ । ईडीसीडीको तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण देखिएको छ ।मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका डेङ्गु रोगका फोकल पर्सन युवानाथ बरालका अनुसार पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको जोखिम बढिरहेको छ । विशेष गरी जनघनत्व धेरै भएको ठाउँमा र कवाडी सामाग्रीहरू अव्यवस्थित तरिकाले राखिएको ठाउँमा डेंगुको जोखिम हुने उहाँले बताउनुभयो । जिल्लामा डेंगुको परीक्षण गर्ने कितको पनि अभाव रहेको बरालले बताउनुभयो  ।

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

देशमै सबैभन्दा धेरै डेङ्गु काठमाडौँ जिल्लामा देखिएको छ भने दोस्रो नम्बरमा झापा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button