तपाईँ सुन्दै हुनुहुन्छः

अविरल बर्षाका कारण ग्रामीण सडकहरू अवरुद्ध

भोजपुर। मनसुन सक्रियतासँगै निरन्तर बर्षा शुरु भएपछि पुर्वी पहाडी जिल्ला भोजपुरका ग्रामीण सडकहरू अवरुद्ध बनेका छन् ।

निरन्तरको बर्सातसँगै कच्ची सडकहरू अवरुद्ध बनेका हुन । जिल्लाका ९ वटा स्थानीय तहहरूमा रहेका ग्रामीण सडकहरू निरन्तर बर्षातका कारण हिलाम्मे बन्दा सहज आवत जावतमा समस्या भएको छ । निरन्तरको बर्षातको कारण पुष्पलाल मध्य पहाडी राजमार्ग अन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ३ मेसपाङको पक्की सडक समेत भासिएको छ । सडक भासिएपछि भोजपुरबाट खोटाङ हुँदै काठमाडौँ चल्ने सवारीका साधनहरू समेत नचल्ने अवस्थामा पुगेका छन् । यो सडक दैनिक सवारीका साधनहरू सञ्चालन हुने व्यस्त सडक हो । 

अविरल वर्षाका कारण भासिएको सडक 

निरन्तरको बर्षातका कारण सडकहरू अवरुद्ध हुन थालेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । “ग्रामीण सडकहरूमा घाम लाग्दा सवारी साधन चल्ने र बर्सातसँगै सडक बन्द हुने गरेका कारण समस्या हुने गरेको छ ।” अध्यक्ष बस्नेतले भन्नुभयो । अविरल वर्षा को कारण सडक तथा घरहरू जोखिमा परेको सूचना आई रहेको बताउँदै अध्यक्ष बस्नेतले सबै नागरिकलाई सजक र सचेत रहन आग्रह गरिएको बताउनुभयो ।

हिलोका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ भएको यातायात ब्यवसायीहरुको भनाई रहेको छ । “ग्रामीण सडक त अवरुद्ध हुने भई गयो, तराईबाट आवत जावत गर्ने पिच सडकहरू त कति बेला अवरुद्ध हुने टुङ्गो हुँदैन ।” यातायात व्यवसायी विपिन नेपालले भन्नुभयो । धरान धनकुटा सडकहरू त अवरुद्ध हुन्छन्, जिल्लाका ग्रामीण सडक त हिलाम्मे भई हाल्छन् ।

ग्रामीण सडक वर्षाको समयमा जति मर्मत गरे पनि एक दिनको झरीले पूरै बिग्रिने भएकाले तत्काल मर्मत र सञ्चालनमा समस्या हुने गरेको छ । बर्षातको समयमा सडकको स्तरोन्नति गर्न समस्या हुने भएकाले केही समय ग्रामीण सडकहरू सञ्चालन नहुने अवस्थामा रहेका कारण जिल्लावासीहरू मारमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button