तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा २ सय ५१ जनामा डेंगु पुष्टि

काभ्रेपलान्चोक I चालु आर्थिक वर्ष २०८०/८१ काभ्रेपलान्चोक जिल्लामा २ सय ५१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 

असार २४ गतेसम्मको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा महिला १३५ र पुरुष १ सय १६ गरी २ सय ५१ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलान्चोकका जनस्वास्थ्य अधिकृत आमुल प्रधानले जानकारी दिनुभयो ।

जिल्लामा सबै भन्दा बढी बनेपा नगरपालिकामा डेंगु संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिकामा ८९ जना, धुलिखेल नगरपालिकामा ४५ जना, पनौतीमा २८, पाँचखालमा १४, नमोवुद्ध नगरपालिकामा ३३ जना, मण्डनदेउपुर नगरपालिकामा २४, रोशी गाउँपालिकामा १०, भुम्लु र तेमाल गाउँपालिकामा २/२ जना, खानीखोला गाउँपालिकामा, बेथानचोक गाउँपालिका, महाभारत गाउँपालिका र चौंरीदेउराली गाउँपालिकामा १/१ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्लाका ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा डेंगुको संक्रमण बढी देखिएको छ । यद्यपि गत वर्षको तुलनामा जिल्लामा डेंगु संक्रणको दर उल्लेख्य घटेको छ । गत आर्थिक वर्ष २०७९/८० मा ६ सय ८२ जनामा डेंगु संक्रमण भएको थियो । पछिल्लो समय सचेतनाका कार्यक्रमलाई तीव्रता दिइएकाले पनि संक्रमणदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपतिले बताउनुभयो ।

डेंगु नियन्त्रणका लागि पालिकाहरूले पनि सचेतना सहितका विविध कार्यक्रम गर्दै आइरहेका छन् । आर्थिक वर्ष २०७८/७९ मा भने ४ सय ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ३ वर्षको तथ्याङ्कलाई हेर्दा डेंगु संक्रमणदरमा उतारचढाव देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button