तपाईँ सुन्दै हुनुहुन्छः

बिल बिजक नभएका ११ करोड १० लाख बराबरको सामान बरामद

झापा । झापामा भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएको ११ करोड १० लाख ८४ हजारभन्दा बढीको बिल बिजक नभएका सामान प्रहरीले बरामद गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि यही असार १८ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल २ नं गण तथा मातहतका युनिटबाट खटेको गस्ती टोलीले ११ करोड १० लाख ८४ हजारभन्दा बढी मूल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक करोड चार लाख दुई हजार मूल्य बराबरको १२ वटा सवारी, ३० लाख ६१ हजार पाँच सय ७० मूल्य भएको सात सय ७९ गोलिया काठ, ५३ लाख ३४ हजार दुई सय मूल्य पर्ने एक हजार ८१ वटा पशु चौपाया, तीन लाख अवैध उत्खननका सवारी बरामद गरिएको छ ।

त्यस्तै, रु ६६ लाख ९३ हजार ९० बराबरको मासुजन्य, रु ८८ हजार बराबरको मदिरा र रु १७ लाख ५१ हजार सात सय ७० बराबरको २४ बोरा अतिसबाजी (पटका) बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपालले २ नं गणले जनाएको छ ।

चालु आवको हालसम्ममा सशस्त्र प्रहरीले भारतबाट लाग औषधसहित नेपाल भित्रिँदै गरेका एक सय चार जना लागुऔषधका प्रयोगकर्ता तथा कारोबारी पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक राईले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ पर्ने व्यक्तिका साथमा सात सय ३६ दशमलव २१ ग्राम खैरो हिरोइन, गाँजा, ट्याबलेट, सिरफ, एमपुललगायतका प्रतिबन्धित औषधि बरामद गरिएको छ ।

सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न भारतसँग सीमा जोडिएका २१ वटा वडामा सीमा सहजीकरण समिति गठन गरी समय समयमा बैठक बस्ने गरेको सशस्त्र प्रहरी बल २ नं गणले जनाएको छ ।

साथै भारतीय समकक्षी एसएसबीसँग आवश्यकताअनुसार निरन्तर बैठक बस्ने गरेको सशस्त्र प्रहरी २ नं गण झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button