तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक टेबुल

काठमाडौँ । राष्ट्रिय सभामा लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ टेबुल भएको छ ।

सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

यस्तै राष्ट्रिय सभामा विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत शीर्षकहरूमाथि छलफल भएको छ ।

छलफलमा सांसदहरुले बजेटले पिछडिएका समग्र क्षेत्र वर्गलाई सम्बोधन गर्न नसकेको र केही क्षेत्रलाई बढी प्राथमिकता दिइदा मुलुकको सन्तुलित विकास हुन नसक्ने बताउनुभयो ।

सांसदहरुले धार्मिक पर्यटनको सम्भावनालाई ध्यान दिन नसकेको, नेपाललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न विमानस्थल, हिमाली लोक मार्ग, पर्यटकीय क्षेत्रका सेवा प्रदायकको विकास र गुणस्तर विस्तार गर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले नागरिकको स्वास्थ्य उपचारमा सहज सेवा सुविधा प्रदान गर्नेतर्फ बजेटले विशेष सम्बोधन गर्न नसकेको र जनतालाई सहज रुपमा खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य हासिल गर्न सुक्दै गएका खानेपानीका स्रोतहरूको अध्ययन गरी आवश्यक नीति कार्यक्रम लागु गर्ने गरी बजेट ल्याइनुपर्ने बताउनुभयो ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय, खानेपानी मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल भएको हो ।

राष्ट्रिय सभाका अर्को बैठक भोली दिउसो १ः १५ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button