तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गामा पहिरोले पाँच घर विस्थापित, २३ घर जोखिममा 

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोले ५ घर परिवार विस्थापित भएका छन् । अविरल बर्षाका कारण गएको पहिरोले जिल्लाको मोलुङ गाउँपालिका ७ जेसे गौरीडाँडाका ५ घर परिवार विस्थापित भएका र २३ घर परिवार जोखिममा परेका हुन् । 

पहिरोका कारण स्थानीय टेक बहादुर पहरी, पेशल बहादुर पहरी, मान बहादुर पहरी, अम्बर बहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भई पहिरोको उच्च जोखिम रहेकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताउनुभयो । पहिरोका कारण सोही स्थानका अन्य २३ घर जोखिममा छन् । जोखिमयुक्त घर परिवारलाई सरसामान, पशुचौपायसहित सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको उहाँको भनाई छ । 

पहिरोका कारण सोही वडाको रतनेमा पनि घरहरू जोखिममा परेका छन् । पहिरोले स्थानीय पेम्बा तामाङको गोठमा बाँधेको दुई वटा माउ भैँसी, दुई वटा राँगा र अर्का स्थानीय मिन बहादुर तामाङको गोठ माथिको कान्लो भत्किएर झरी गोठ पुरिदा एउटा राँगा पुरिएकोमा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार रतनेका भक्त बहादुर तामाङ, सिंह बहादुर तामाङ, महिरानी तामाङ, पेम्वा तामाङ र मिन बहादुर तामाङको घर पहिरोको जोखिममा रहेकोले पीडित परिवार, पशुचौपाय र सरसामान सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ । 

पहिरोले स्थानीय भुलभुले खोलाबाट पेल्टीसेट मार्फत निकालिएको विद्युतमा क्षति पुगेको छ भने बालीनालीमा समेत गरेर लाखौँको क्षति भएको र क्षतिको विवरण सङ्कलनको काम पनि भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

तलबाट पहिरोले तानेपछि जेसेमाविको भवन समेत जोखिममा परेको छ । जिल्लाभर पहिरोको जोखिम बढेको छ । 

वर्षेनी बाढीपहिरोबाट जनधनको क्षति हुने गरेको छ । यसवर्ष पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button