तपाईँ सुन्दै हुनुहुन्छः

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक विधायन व्यवस्थापन समितिमा

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रियसभाको आजको बैठकले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रस्तुत गर्नुभएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यस्तै, आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत शीर्षकहरूमाथि छलफल भएको छ ।

छलफलमा सांसदहरुले बजेटले सङ्घीयताको मर्म बमोजिम सबै क्षेत्र, निकाय र समुदायलाई समेट्न नसकेको बताउनुभयो ।

सांसदहरुले बजेटमा आर्थिक अनुशासन पालना नभएको, टुक्रे योजना राखिएको, कृषि, पर्यटन, व्यापारमा लगानी गरी रोजगारी सिर्जना गर्न पर्याप्त बजेट विनियोजन नभएको बताउनुभयो ।

छलफलमा सत्ता पक्षका सांसदहरुले सीमित स्रोत साधनका बीच आर्थिक अवस्था अनुकूलको सन्तुलित बजेट आएको बताउनुभयो ।

सांसदहरुले सुशासन, सामाजिक न्याय र रोजगारी र्सिजनामा बजेट केन्द्रित भए पनि समग्र जनअपेक्षालाई सम्बोधन गर्न नसकेको धारणा राख्नुभयो ।

मन्त्रालयगत शीर्षकहरूमाथि छलफलमा विकासका निम्ति साझा धारणा बनाउनुपर्ने भन्दै सांसदहरुले आर्थिक वृद्धि गर्न विकासमैत्री कानुन निर्माण र सन्तुलित विकास निर्माणलाई बजेटले आत्मसाथ गर्न नसकेको पनि बताउनुभयो ।

बैठकमा सांसद किरणबाबु श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन विधेयकका शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव राख्नुभएको छ ।

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयगत शीर्षकहरूमाथि छलफल भएको हो ।

राष्ट्रियसभाको अर्को बैठक भोलि मङ्गलवार दिउँसो सवा १:०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button