तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एकीकृत समाजवादीको महाधिवेशन : विभिन्न राजनीतिक दलका शिर्ष नेताहरूद्वारा सम्बोधन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ ।

काठमाडौँमा सुरु भएको महाधिवेशन उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शिर्ष नेताहरूले सम्बोधन गर्नुभएको छ ।

उद्घाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा दलहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्र र जनताको आवश्यकतालाई सम्बोधन गर्ने चुनौती पनि दलहरूकै काँधमा आएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीको दशौँ महाधिवेशनले एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसहितको बामपन्थी्हरुको एकताका लागि वातावरण बनाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरु निराशावादी नभई आसावादी हुने र यो महाधिवेशनले सही विचार र राजनीतिक कार्यदिशा तय गरी अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष माधव कुमार नेपालले सबै देशभक्त शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले नेपालको परिवर्तनमा आफु सधैँ अग्रपन्थीमा रहेको स्मरण गर्दै वर्तमानमा देखिएको चुनौतीलाई पनि सामना गर्ने बताउनुभयो ।

यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीको नेतृत्वले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति र सुशासनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताको चाहना बमोजिम नेताहरूले काम गरे लोकतन्त्र कहिल्यै खतरामा नपर्ने बताउनुभयो ।

यसैगरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, जसपाका अध्यक्ष अशोक राई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनको सफलताको शुभकामना दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button