तपाईँ सुन्दै हुनुहुन्छः

रोपाइँ महोत्सव : हिलोमा खेल्दै विदेशी पर्यटक

पोखरा । विदेशी पर्यटकहरू १९ औँ संस्करणको असारे रोपाइँ महोत्सव २०८१ मा हिलो खेल्दै रमाउनुभएको छ ।

पोखरा २३ को फेवा फाँटमा पोखरा पर्यटन परिषदद्वारा आयोजित महोत्सवमा विदेशी पर्यटकहरू हिलोमा खेलिने विभिन्न खेलकुदमा सहभागी हुनुभएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

“पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ “रोपाइँ महोत्सव“ विगतका वर्षदेखि पोखरा क्षेत्रका विभिन्न स्थानहरूमा महोत्सव आयोजना गरिँदै आएको श्रेष्ठले जानकारी दिनुभयो । खेतीयोग्य जमिनलाई संरक्षण गरी बाँझो जग्गामा खेतीका प्रोत्साहन गर्न महोत्सवले सहयोग गर्ने उहाँले बताउनुभयो ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । फेवातालको सिरान भागमा भएको उक्त महोत्सवमा मुख्यमन्त्री पाण्डेले प्रदेशका साथै नेपालको उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभयो ।

प्रदेशमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले फेवाताल संरक्षणमा आफूहरू कटिबद्ध भएको बताउनुभयो ।

प्रदेश सांसद प्रकाश बरालले पोखराको फेवातालसहित भ्यु फेवा राउण्ड फेवा परियोजनाले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखनीय सहभागिता रहेको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

हिलोमा भलिबल, हिले दौड, र रस्साकस्सी लगायतका प्रतियोगिता सञ्चालन गरिएको महोत्सवका संयोजक तारानाथ पहरीले बताउनुभयो ।

महोत्सवमा साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत: गरिएका थिए । कलाकार समीक्षा अधिकारी, प्रजापति पराजुली, निर्जला गुरुङ, बालकाशी गुरुङ लगायतले प्रस्तुती दिनुभएको महासचिव सिग्देलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button