तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा ‘बाल उमङ्ग बिमा’ कार्यक्रम

चितवन । भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बिमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बिमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रो पटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो ।

महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलका अनुसार गत आवमा तीन सय ८८ जना र यस आवमा तीन सय ८९ जना बालिकाको बिमा गरिएको छ । भरतपुर महानगरपालिकामा स्थायी बसोबास भएर सरकारी स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरूका लागि यो कार्यक्रम लागू गरिएको हो ।

बालिकाको जन्म भएपछि महानगरले बिमा बराबरको रकम रु ५० हजार बाल उमङ्ग बिमाका लागि प्रदान गर्ने छ । उहाँले भन्नुभयो, “पन्ध्र वर्षे बिमा कार्यक्रम भएकाले हरेक वर्ष नवीकरण महानगरले गर्नेछ ।” पन्ध्र वर्षपछि ती बालिकाले रु एक लाख पाउने उहाँले बताउनुभयो । महानगरपालिकाले यस वर्ष बिमा नवीकरण र नयाँ बिमा गरी रु २५ लाख ७७ हजार आठ सय ६२ बिमा कम्पनीलाई बुझाएको छ । 

महानगरपालिका प्रमुख  दाहालले सरकारी अस्पतालमा प्रसूति गर्न आउनेको सङ्ख्या बढाउन र छोरा र छोरीमा हुने विभेद अन्त्यका लागि महानगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । आफू पहिलो पटक प्रमुख हुँदा भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाहरूको बहिरङ्ग टिकट निःशुल्क गरेको जनाउँदै उहाँले दोस्रो कार्यकाल प्रमुख भएर आएसँगै छोरी बिमा कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “छोरीहरू उच्च शिक्षा पढ्ने समयमा यो बिमाको रकम पाउने भएकाले कोही पनि छोरी शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर नै यो कार्यक्रम ल्याएका हौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button