तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा पहिरोमा परी  एकै परिवारका पाँच जनाको मृत्यु (अपडेट)

गुल्मी । गुल्मीमा पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर–६ कंडेलपाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिनुभयो ।  

पहिरोमा पुरिएर ५५ को भेष बहादुर कामी, श्रीमती ४८ की सुन्तली कामी, बुहारी २६ वर्षकी सिता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक, ८ महिनाको बिपना बिक रहेको प्रहरीले जनाएको छ । गुल्मीमा गएराती अविरल वर्षा भएको थियो । 

उनीहरूलाई राति नै पुरेको हुनसक्ने अनुमान रहेको छ । घटना स्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रतिनिधि र रेडक्रसको टोली घटना स्थलमा पुगेका छन् । 

घरमा माथिबाट ढुङ्गा ,माटो सहितको पहिरो भेषबहादुर कामीको ढुङ्गा माटोले बनेको २ तले टिनले छाएको घर पुरेको हो । पहिरोले पुरेको बारे जानकारी शनिबार बिहान ७ बजे मात्रै प्राप्त भएको थियो । 

पहिरोमा थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राम कुमार केसीको कमाण्डमा १५ जनाको टोली र रामवाण गुल्म तम्घास गुल्मीबाट उप.सेनानी मिन बहादुर साहीको कमाण्डमा २२ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button