तपाईँ सुन्दै हुनुहुन्छः

कुपोषणका कारण दुई बालबालिकाको मृत्यु 

बाजुरा । कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोटमा दुई बालबालिकाको मृत्यु भएको छ ।

कुपोषणका कारण एक हप्ता पहिले मात्र मुक्तिकोटकी दुमली विककी १७ महिनाकी छोरी जमुना विकको मृत्यु भएकोमा बुधवार साँझ अर्को बालकको मृत्यु भएको हो ।

कुपोषणले थलिएका स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर २ बस्ने रुपसरा न्यौपानेको १४ महिनाको छोरा सन्तोष न्यौपानेको मृत्यु भएको मुक्तिकोट स्वास्थ्य संस्थाका इन्चार्ज वृज विकले बताउनुभयो । उहाँका अनुसार मृतक जमुना र सन्तोषको कुपोषणका कारण मृत्यु भएको हो।

कुपोषणले थला परेका मृतक दुवै बालबालिकालाई मुक्तिकोट स्वास्थ्य चौकीले रिफर गरेपनि परिवारसँग अन्यत्र लगि उपचार गराउन आर्थिक अभाव हुँदा मृत्यु भएको जनाइएको छ ।

बाजुराको सदरमुकाम मार्तडीमा रहेको अस्पताल बाजुरामा पोषण पुनर्स्थापना केन्द्र स्थापना भएको भएपनि त्यहाँसम्म पुर्‍याउन परिवारसँग पैसा नहुँदा ती बालबालिकाको मृत्यु हुन पुगेको हो।

मुक्तिकोट गाउँमा वैशाख यता मात्र २१ जना कडा कुपोषित बालबालिका रहेको मुक्तिकोट स्वास्थ्य चौकी इन्चार्ज बृज विकले बताउनुभयो ।

कुपोषित २१ जना बालबालिकाको मुक्तिकोट स्वास्थ्य संस्थामार्फत उपचार भइरहेको छ । मुक्तिकोट गाउँमा कुपोषणको निकै कहर रहेको छ, कडा कुपोषित बालबालिकाको मुक्तिकोट स्वास्थ्य संस्थामा उपचार भइरहेको भए पनि बाँकी मध्यम र सामान्य धेरै बालबालिकामा कुपोषण व्याप्त रहेको इन्चार्ज विकले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button