तपाईँ सुन्दै हुनुहुन्छः

रिचार्ज पोखरी निर्माणलाई तीव्रता

पाँचसय भन्दा बढी रिचार्ज पोखरी निर्माण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले रिचार्ज पोखरी निर्माणलाई तीव्रता दिएको छ ।

पानीको मुहान संरक्षण गर्ने उद्देश्यले नगरपालिकाभित्रका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई नगरपालिकाले तीव्रता दिएको हो ।

हरेक वर्ष नगरपालिकाले नीति तथा कार्यक्रममार्फत नै रिचार्ज पोखरी निर्माणका लागि सम्बोधन गर्दै बजेटसमेत विनियोजन गर्दै आएको छ । जस अनुसार नगरपालिकाभित्र पाँचसय वटा भन्दा बढी रिचार्ज पोखरी निर्माण सम्पन्न भइसकेको नगरले जनाएको छ । निर्माण सम्पन्न मध्य पनि झण्डै ९० प्रतिशत रिचार्ज पोखरी त वडा न ११ मा नै निर्माण भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पपश्चात् कतिपय पानीका मूलहरू पलाउन छाडेका र कतिपय मूलहरू सुकेका कारण रिचार्ज पोखरी निर्माणको अवधारणालाई नगरले अघि सारेको हो । मुहानको सिरमा बर्खाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउनका लागि रिचार्ज पोखरी उपयोगी हुने गर्दछ । पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि मूलहरू सुक्न थालेका छन् । निर्मित रिचार्ज पोखरीका कारण पानीको मुहानहरू संरक्षण हुनका साथै लुकेका मूलहरूबाट पानी पलाउने विश्वास आफ्नो रहेको नगरप्रमुख सापकोटाले बताउनुभयो ।

पछिल्लोपटक वडा न ११ ले चौतारा बन्देऊ सडक खण्डसँग जोडिएका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई प्राथमिकतामा राखेको छ । सडकसँगै रिचार्ज पोखरी निर्माण गर्दा एकातिर पानी पूनर्भरण भएर जमिन रसाउने र अर्कोतर्फ सडकको नालाको भल पोखरीमा भरण हुँदा सडक कटानी न्यूनीकरण हुने हुँदा सडक नजिक रिचार्ज पोखरी निर्माण गरिएको वडा अध्यक्ष रोशन गिरीले बताउनुभयो । त्यसो त भलसँगै बगेर आएको पतकर सङ्कलन गर्दै कम्पोष्ट मल बनाउनका लागि पनि वडा लागिपरेको उहाँको भनाइछ । वडा न ११ ले रिचार्ज पोखरी मात्र हैन किसानलाई सहजताका लागि रोपाई पोखरी पनि निर्माण गर्दै आएको छ ।

रिचार्ज पोखरीको प्रभावकारिता बढ्दै गएपछि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पनि रिचार्ज पोखरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button