तपाईँ सुन्दै हुनुहुन्छः

१९ औँ असारे रोपाई महोत्सव फेवा फाँटमा हुने

पोखरा । १९ औँ संस्करणको असारे रोपाई महोत्सव २०८१ पोखराको फेवा फाँटमा हुने भएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा कृषि क्षेत्रको प्रवर्द्धनसहित पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उद्देश्यले उक्त महोत्सव हुने भएको मङ्गलवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

“पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ रोपाइँ महोत्सव विगतका वर्षदेखि पोखराका विभिन्न स्थानमा हुँदै आइएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

पोखरा वरिपरिका खेतीयोग्य जमिनको संरक्षण गर्दै लैजाने, कृषकलाई आफ्नो पेशा प्रति उत्प्रेरित गर्ने र असार १५ मा “हिलोमा एक पटक त टेक्नु पर्छ है” भन्ने भनाइलाई समेत जीवन्त तुल्याउने अभिप्रायले उक्त महोत्सवलाई निरन्तरता दिएको अध्यक्ष श्रेष्ठले जनाउनुभयो । महोत्सवमा करिब ४ सय विदेशी पर्यटक सहभागी हुने अध्यक्ष श्रेष्ठले दाबी गर्नुभयो ।

महोत्सवमा करिब १० हजार पर्यटक सहभागी गराउने आफूहरूको लक्ष्य रहेको उहाँले जनाउनुभयो । हिलोमा हुने भलिबल प्रतियोगितामा विजेता टिमले १२ हजार र उपविजेताले ६ हजार प्राप्त गर्ने छन् । हिले दौड प्रतियोगिता, पत्रकार तर्फको हिले दौड लगायतका प्रतियोगिता हुने भएको छ ।

रस्साकस्सी तर्फको प्रतियोगिताको विजेतालाई ५ हजार र दोस्रो हुनेलाई ३ हजार प्रदान गरिने महोत्सव संयोजक तारानाथ पहरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button