तपाईँ सुन्दै हुनुहुन्छः

‘देश बलियो भए सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण हुन्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश बलियो भएमात्र सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण हुने भएकाले सबैको एकतामा जोड दिनुभएको छ ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सबै समुदाय एक भए मात्रै मुलुकका लागि योगदान गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

file photo

आदिवासी जनजातिका अधिकार संरक्षणका लागि आफू विगतदेखि नै लागिपरेको उल्लेख गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगायत संरचना आफू प्रधानमन्त्री भएकै बेला स्थापना भएको स्मरण गर्नुभयो ।

आदिवासी जनजातिको हक, अधिकारसँगै भाषा, संस्कृति संरक्षणमा पनि सबैको सहयोग रहनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । जनजातिका माग पूरा गर्न पार्टीका तर्फबाट पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कांग्रेसको गत महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने समय निर्धारण गरेको थियो । महासमिति बैठकले तोकेको अवधिमा महाधिवेशन सम्पन्न गर्ने महासङ्घ पहिलो भ्रातृ संस्था बनेको छ । महासमिति बैठकले तोकेको असार १५ गतेसम्म अरू कुनै पनि भ्रातृ संस्थाले महाधिवेशन गर्ने तयारी गरेका छैनन् ।

आदिवासी जनजाति सङ्घ महासङ्घका रुपमा रूपान्तरण भएपछिको यो पहिलो महाधिवेशन हो । महासङ्घमा ५९ वटै जनजातिका सङ्घ संस्थाको प्रतिनिधित्व रहेको महासचिव जगत बरामले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button