तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले पञ्चशीलको सिद्धान्तमा आधारित विदेश नीति सञ्चालन गर्दै आएका नेपाल र चीनबीचको सम्बन्ध जनस्तरमा नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।

सिछुवान–नेपाल प्राविधिक सहकार्य प्रवर्द्धन सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले द्विपक्षीय सम्बन्ध पारस्पारिक सहयोगमा आधारित सम्बन्धलाई व्यापार, लगानी, ज्ञान र सीप आदानप्रदान माध्यमबाट महत्वपूर्ण आयाम प्रदान गरेको बताउनुभयो ।

उपाध्यक्ष घिमिरेले भन्नुभयो, “चीनले नेपालका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ । चीनको आर्थिक(सामाजिक विकास निकै लोभलाग्दो र अनुकरणीय छ ।” सूचना र प्रविधिको चमत्कारिक विकासका दृष्टिले विश्व एक गाउँमा रूपान्तरण हुँदै गएको प्रसङ्ग उल्लेख गर्दै उहाँले चीनसँग नेपालको दिगो र सन्तुलित विकासका लागि स्रोत व्यवस्थापनसहित उल्लेख्य भूमिका अपेक्षा गरिएको बताउनुभयो ।

नेपाल पनि छिट्टै अति–कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उक्लिने चरणमा रहेको अवस्थामा यस यात्रालाई सार्थक बनाउन चिनियाँ सहयोग महत्वपूर्ण र आवश्यक रहेको बताउँदै उहाँले चिनियाँ सहयोगको दायरा अझै फराकिलो हुँदै जानेमा विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन, सिचुआन प्रान्तीय समितिका उपाध्यक्ष से साङह्वाले चीन र नेपाल एकअर्कालाई सम्मान र विश्वास गर्ने असल मित्र, असल साझेदार र असल छिमेकी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई राष्ट्र प्रमुखको रणनीतिक निर्देशनमा सिचुआन–नेपालको सम्बन्ध निरन्तर उकालो लागेको छ, आर्थिक र व्यापारिक सहयोग झन् घनिष्ट भएको छ, सांस्कृतिक आदान–प्रदान र सहयोगले सकारात्मक नतिजा हासिल गरेको छ ।”

सिचुआन र नेपाल हिमाल र नदीहरूले जोडिएको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उपाध्यक्ष साङह्वाले हामी नेपालसँग विज्ञान तथा प्रविधि, ऊर्जा र अन्य क्षेत्रमा सहयोग सुदृढ गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

सिचुआन र नेपालबीचको वैज्ञानिक र प्राविधिक ऊर्जा सहयोगलाई प्रवर्द्धन गर्ने कार्यक्रममार्फत नेपालको बजार माग र लगानीको वातावरण बुझ्न सक्षम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उपाध्यक्ष साङह्वालले भन्नुभयो, “विज्ञान, प्रविधिको क्षेत्रमा सिचुआन–नेपाल सहयोग प्रवर्द्धन गर्न दोस्रो ‘बेल्ट एण्ड रोड’ विज्ञान तथा प्रविधि आदानप्रदान तथा सहयोग सम्मेलनले दुवै मुलुकबीच विज्ञान, प्रविधि, अर्थतन्त्र, व्यापार र मानविकीका क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न भूमिका खेल्नेछ ।”

नेपालका लागि चीनका राजदूत छेन सोङले चीन र नेपाल रणनीतिक साझेदार र मित्रवत् छिमेकी भएकाले चीनले नेपालसँगको आफ्नो सम्बन्धलाई ठूलो महत्व दिएको बताउनुभयो । उहाँले हालैका वर्षहरूमा सिचुआन प्रान्त र नेपालबीचको वैज्ञानिक र प्राविधिक आदानप्रदान र सहयोग झनै नजिक भएकाले दुवै पक्षलाई पारस्परिक लाभकारी सहयोगलाई अझ गहिरो बनाउन राम्रो आधारशिला खडा गरेको बताउनुभयो ।

विज्ञान र प्रविधि चीन निर्माणको जग र राष्ट्रिय समृद्धिको आधार भएको बताउँदै राजदूत सोङले हालैका वर्षमा चीनले विज्ञान र प्रविधिमा आत्मनिर्भर र परिष्करणको प्रयासलाई तीव्रता दिएको बताउनुभयो । चीनले अनुसन्धान तथा विकासमा गर्ने लगानी विश्वमा दोस्रो स्थानमा रहेको र अनुसन्धान र विकासमा संलग्न जनसङ्ख्याको हिसाबमा विश्वमा पहिलो स्थानमा रहेको सो अवसरमा जानकारी दिइयो ।

नवप्रवर्तन–सञ्चालित विकास रणनीतिमा निरन्तर गतिशील हुँदै जाँदा चीन नवप्रवर्तनशील देशहरूको सूचीमा प्रवेश गरेको उल्लेख गरियो । चीनको वैज्ञानिक र प्राविधिक शक्तिको सुधारले चिनियाँ जनतालाई मात्र होइन, अन्तर्राष्ट्रिय समुदायलाई पनि फाइदा पुर्‍याइरहेको प्रसङ्ग उल्लेख गर्दै राजदूत छेन सोङले हाल चीनले एक सय ६० भन्दा बढी देश र क्षेत्रहरूसँग वैज्ञानिक र प्राविधिक सहयोग सम्बन्ध स्थापित गरेको जानकारी दिनुभयो ।

राजदूत सोङले चीनले अन्य देशहरूसँग अझ खुला रूपमा वैज्ञानिक र प्राविधिक र नवप्रवर्तन सहयोगलाई सुदृढ गर्दै नेपाललगायतका विकासशील मुलुकसँग वैज्ञानिक र प्राविधिक विकासको लाभांश बाँड्ने काम जारी राख्ने बताउनुभयो । चीन–नेपाल वैज्ञानिक र प्राविधिक सहयोगले लोकप्रिय रहेको जनाउँदै उहाँले विश्वव्यापी विकास पहलहरू कार्यान्वयन गर्न र मानव जातिको साझा भविष्यको साथ साझा समुदाय निर्माण गर्न दुवै पक्षको संयुक्त प्रयासको ज्वलन्त प्रतीक स्पष्ट गर्नुभयो ।

राजदूत सोङले दुई देशका नेताबीच भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, ‘बेल्ट एण्ड रोड’को उच्च गुणस्तरको संयुक्त निर्माणलाई अवसरका रूपमा लिन, सहयोगका बिन्दुहरू विस्तार गर्न र सहयोगका लागि नयाँ गतिको विकास गर्न नेपाली जनताको हितमा चीन नेपालसँग काम गर्न इच्छुक रहेको स्पष्ट पार्नुभयो ।

चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले विज्ञान र प्रविधिले कुनै पनि समाज र कुनै पनि देशको समृद्धि र विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने हुँदा नेपाल पनि त्यसबाट अपवाद हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषि, सौर्य ऊर्जा, अटो मोबाइल, डाटा विज्ञान, उत्पादन मेसिन र उपकरणलगायत नयाँ ऊर्जा चीनले कुशल प्रविधिको विकासमा चमत्कार गरेको छ भने यता नेपाल नवीकरणीय ऊर्जा, उच्च मूल्यका कृषि बाली, औषधीय जडीबुटी, तथ्याङ्क विज्ञान लगायतका कृत्रिम विकास गर्ने अपार सम्भावना छ ।”

त्यसअवसरमा चिनियाँ प्रतिनिधिमण्डलमा सहभागी विज्ञान तथा प्रविधि, प्रविधि अनुसन्धान, कृषि सूचना तथा ग्रामीण अर्थतन्त्र, अन्तर्राष्ट्रिय सहयोग आदान प्रदानका क्षेत्रमा कार्यरत विषय विज्ञले आआफ्ना क्षेत्रबाट नेपालमा हुन सक्ने सहयोग र लगानीको सम्भावनाबारे चर्चा गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button